बंगलादेशको राष्ट्रपतिमा सत्तारुढ बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी) का उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएका छन्। उनी बंगलादेशको २३ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
उनले २५५ संसदीय मत प्राप्त गरे भने विपक्षी गठबन्धनका उम्मेदवार कर्नेल (सेवानिवृत्त) ओली अहमदले ८८ मत प्राप्त गरे।
राष्ट्रपति निर्वाचनको लागि बिहीबार संसद् भवनमा दिउँसो २ बजेदेखि ५ बजेसम्म मतदान भएको थियो। कुल ३४९ सांसदले मतदान गरेका थिए।
संसदमा बीएनपीले दुई तिहाइ बहुमत राखेको हुनाले आलमगीरको विजय पहिले नै लगभग निश्चित मानिएको थियो। उनका प्रतिस्पर्धी ओली अहमदलाई जमात–ए–इस्लामीको नेतृत्वमा ११ दलीय गठबन्धनले समर्थन गरेको थियो।
बंगलादेशको राष्ट्रपति चुनावमा आफ्नो पराजयपछि ११ दलीय गठबन्धनका उम्मेदवार कर्नेल अहमदले चुनावमाथि प्रश्न उठाएका छन्। उनले नतिजा पूर्वनिर्धारित भएको र बंगलादेशमा लोकतन्त्र नियन्त्रित रहेको बताए।
बिहीबार ढाकामा पत्रकारहरूसँग कुरा गर्दै ओलीले कुनै पनि सांसदलाई आफ्नो रोजाइ अनुसार मतदान गर्ने स्वतन्त्रता नभएको बताए। सांसदहरूले आफ्नो दलले निर्देशन दिएको उम्मेदवारलाई मतदान गर्नुपर्ने उनले बताए।
संविधानको धारा ७० लाई उल्लेख गर्दै उनले भने, ‘यदि कुनै सांसदले आफ्नो दलको निर्णयको विरुद्धमा मतदान गर्छ भने उसले संसदको सदस्यता गुमाउन सक्छ।’
राष्ट्रपतिमा निर्वाचित आलमगीरले अगस्ट २१ तारिख साँझ बंगभवनमा राष्ट्रपतिको शपथ लिने बीएनपीका प्रमुख सचेतक नुरुल इस्लाम मोनीले बताए।
प्रकाशित: ४ भाद्र २०८३ १९:०९ बिहीबार

