ब्राजिलमा राष्ट्रपति निर्वाचनका लागि आज मतदान हुँदैछ। निर्वाचनमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा हुँदैछ।
पहिलो चरणमा लुला दुई प्रतिशत मतले पछि परेका थिए। उनले ४५ प्रतिशत मत पाएका थिए भने फ्लाभियोले ४७ प्रतिशत मत प्राप्त गरेका थिए। दुवैबीच करिब २२ लाख मतको अन्तर थियो।
कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेपछि ब्राजिलमा दोस्रो चरणको मतदान हुन लागेको हो। आइतबार साँझ ४ः३० बजे सुरु हुने मतदान राति १ः३० बजेसम्म चल्नेछ। मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ। प्रारम्भिक मतपरिणाम सोमबार बिहानदेखि आउन थाल्नेछन्।
सर्वेक्षणमा दुवैबीच कडा प्रतिस्पर्धा
निर्वाचनअघि सार्वजनिक सर्वेक्षणअनुसार फ्लाभियोलाई ५० प्रतिशत र लुलालाई ४९ प्रतिशत मत प्राप्त हुने अनुमान गरिएको छ। यसले दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने संकेत गरेको छ।
निर्वाचनको अन्तिम चरणमा दुवै नेताले महँगी, अपराध र भ्रष्टाचारका विषयमा एकअर्काको आलोचना गरेका छन्। अक्टोबर २३ मा भएको अन्तिम टेलिभिजन बहसमा लुलाले आफ्नो सरकारले न्यूनतम पारिश्रमिक बढाउन र गरिब नागरिकलाई सहयोग गर्न काम गरेको बताएका थिए।
त्यस्तै, फ्लाभियोले महँगी, नागरिकमाथि बढ्दो ऋणको भार र अपराधका विषयमा सरकारको आलोचना गरेका थिए। दुवै नेताले एकअर्कामाथि भ्रष्टाचारसम्बन्धी आरोपसमेत लगाएका थिए।
८० वर्षीय लुला चौथो पटक राष्ट्रपति बन्ने प्रयासमा
लुला सन् २००३ देखि २०१० सम्म दुई कार्यकाल ब्राजिलको राष्ट्रपति भइसकेका छन्। सन् २०२३ मा उनी तेस्रोपटक सत्तामा फर्किएका थिए। अहिले उनी चौथोपटक राष्ट्रपति बन्ने प्रयासमा छन्।
उनको राजनीतिक आधार मुख्यतः गरिब परिवार हुन्। उनको सरकारले गरिब नागरिकलाई आर्थिक सहायता उपलब्ध गराउने र न्यूनतम पारिश्रमिक बढाउने विषयलाई प्राथमिकता दिँदै आएको छ। तर यसपटक महँगी र अपराध उनका लागि प्रमुख चुनौती बनेका छन्।
फ्लाभियो पहिलो पटक राष्ट्रपति निर्वाचनमा
फ्लाभियो बोल्सोनारो पेसाले वकिल हुन् भने उनी सिनेटरसमेत छन्। उनी पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा हुन्। उनका पिता सन् २०१९ देखि २०२२ सम्म ब्राजिलको राष्ट्रपति थिए।
सत्तापलटको षड्यन्त्रसम्बन्धी मुद्दामा जायर बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाइएको छ। फ्लाभियोले आफ्ना पिताको दक्षिणपन्थी राजनीतिक विचारधारालाई अगाडि बढाइरहेका छन्।
पहिलो चरणमा ३ करोड ३० लाख बढीले मतदान गरेनन्
अक्टोबर ४ मा भएको पहिलो चरणको मतदानमा करिब ३ करोड ३४ लाख मतदाताले मतदान गरेका थिएनन्। यो कुल मतदाताको २१ प्रतिशतभन्दा बढी हो।
केही मतदाता दुवै उम्मेदवारप्रति सन्तुष्ट थिएनन् भने केही अन्य कारणले मतदान गर्न पुगेनन्। अब दोस्रो चरणमा उनीहरूमध्ये कति जना मतदानमा सहभागी हुन्छन् भन्ने विषयले पनि निर्वाचनको नतिजामा प्रभाव पार्न सक्छ।
ब्राजिलको निर्वाचन परिणाममा अमेरिका र चीनको नजर
ब्राजिल ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र हो। यो ब्रिक्सको संस्थापक सदस्यसमेत हो। त्यसैले यहाँ सरकार परिवर्तन हुँदा त्यसको प्रभाव देशको आन्तरिक राजनीतिमा मात्र सीमित रहने छैन।
लुलाको सरकारले चीन र ब्रिक्स सदस्य राष्ट्रहरूसँगको सम्बन्ध सुदृढ गर्न जोड दिँदै आएको छ। यस्तो अवस्थामा उनी पुनः निर्वाचित भए चीन र अन्य ब्रिक्स राष्ट्रहरूसँगको विद्यमान सम्बन्ध तथा सहकार्यले निरन्तरता पाउने सम्भावना छ।
अर्कोतर्फ, फ्लाभियो बोल्सोनारोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निकट मानिन्छ। त्यसैले उनी निर्वाचित भए अमेरिकासँग ब्राजिलको सम्बन्धमा नयाँ परिवर्तन आउन सक्ने सम्भावना छ।
यसर्थ, यो निर्वाचन लुला र फ्लाभियोबीचको प्रतिस्पर्धामा मात्र सीमित छैन। ब्राजिल आगामी दिनमा अमेरिकासँग नजिकिन्छ वा चीन र ब्रिक्स राष्ट्रहरूसँगको विद्यमान सम्बन्धलाई थप सुदृढ बनाउँछ भन्ने विषय पनि अक्टोबर २५ मा हुने निर्वाचनको परिणामले निर्धारण गर्नेछ।
प्रकाशित: ८ कार्तिक २०८३ ०७:२४ आइतबार





