२१ भाद्र २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टाइफुनपछि चीनमा पहिरो, दुई जनाको मृत्यु, १० बेपत्ता

टाइफुन ‘साउडेल’का कारण केही दिनदेखि परेको भारी वर्षापछि पूर्वी चीनको जियाङ्सी प्रान्तमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्।

पहिरोका कारण दर्जनौँ घरमा क्षति पुगेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

शनिबार बिहान जियाङ्सीको सुइचुआन काउन्टीस्थित एक गाउँमा पहिरो गएको थियो। घटनालगत्तै उद्धारकर्मीहरू परिचालन गरिएको थियो भने थप जोखिमबाट जोगाउन स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।

उद्धारका क्रममा एक जनालाई मृत अवस्थामा फेला पारिएको थियो भने दुई जनालाई जीवितै उद्धार गरिएको थियो।

आइतबार बिहान उद्धारकर्मीहरूले बेपत्तामध्ये थप एक जनाको शव भत्किएका घरको भग्नावशेषबाट निकालेको सरकारी प्रसारण संस्था सीसीटीभीले जनाएको छ।

टाइफुनका कारण परेको भारी वर्षापछि मध्य–दक्षिण चीनको हुनान प्रान्तमा पनि दुई जनाको मृत्यु भएको सिसिटिभीले जनाएको छ।

मृत्युको कारणबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। तर, लगातारको वर्षाका कारण पहिरो तथा अन्य प्राकृतिक विपद् निम्तिएको बताइएको छ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ‘साउडेल’ ले अगस्ट २८ मा झेजियाङ प्रान्तमा दुई पटक र बिहीबार फुजियान प्रान्तमा उष्णकटिबन्धीय आँधीका रूपमा तेस्रोपटक जमिनमा प्रवेश गरेको थियो। झेजियाङ र फुजियान दुवै जियाङ्सीसँग जोडिएका प्रान्त हुन्।

फुजियानमा केही दिनदेखि परेको भारी वर्षापछि धेरै मानिसको अवस्था अज्ञात रहेको स्थानीय अधिकारीहरूले बताएका छन्। 

यकिन सङ्ख्या सार्वजनिक नभए पनि पुटियान सहरको हुआटिङ टाउनमा १०० भन्दा बढी घर भत्किएको सिन्ह्वाले जनाएको छ।

बिहीबार दिउँसो बाँध फुटेपछि केही गाउँ डुबानमा परेका थिए र बासिन्दाहरू बाढीमा फसेका थिए।

सिन्ह्वाका अनुसार शुक्रबार रातिसम्म फुजियानका जोखिमपूर्ण तटीय तथा भित्री क्षेत्रबाट करिब छ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा केही सडकहरू बाढीको पानीले भरिएर नदीजस्तै बनेका देखिन्छन्।

उद्धारकर्मीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हावाले भरिने डुङ्गासमेत प्रयोग गरिरहेका छन्।

भारी वर्षा र पहिरोका कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित: २१ भाद्र २०८३ १७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App