दुई वर्षअघि फुकुसिमा दाइची आणविक ऊर्जा संयन्त्रबाट प्रशोधित रेडियोधर्मी फोहोर पानी समुद्रमा छोडिएपछि चीनले जापानी समुद्री खाद्य पदार्थमा लगाएको प्रतिबन्ध हटेको छ। जापानले शुक्रबार यसपछि पहिलोपटक चीनलाई समुद्री खाद्य निर्यात पुनः सुरु गरेको घोषणा गरेको हो।
मुख्य क्याबिनेट सचिव मिनोरु किहाराका अनुसार, होक्काइडोमा उत्पादन गरिएको करिब छ मेट्रिक टन स्क्यालप बुधबार चीन पठाइएको थियो। यो ढुवानी सन् २०२३ को अगस्टमा बेइजिङले सबै जापानी समुद्री खाद्य पदार्थमाथि लगाएको प्रतिबन्धपछि पहिलो आधिकारिक निर्यात हो।
किहाराले पत्रकारहरूलाई भने, ‘यो पुनः सुरु जापान–चीन सम्बन्धमा सकारात्मक प्रगति हो। सरकारले यसलाई समुद्री खाद्य निर्यातका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।’ उनले चिनियाँ पक्षलाई बाँकी जापानी निर्यातकहरूको आवेदन पुनः दर्ता गर्न आग्रह गरेका छन्।
चीनले लामो वार्तापछि गत जुन महिनामा प्रतिबन्धलाई क्रमशः सहज बनाउने र आयात पुनः सुरु गर्ने तयारी गर्ने घोषणा गरेको थियो।
फुकुसिमा दाइची ऊर्जा संयन्त्रबाट प्रशोधित फोहोर पानीको निकासी जापान भित्रै लामो समयदेखि विवादास्पद विषय बन्यो। यसले स्थानीय उत्पादनको प्रतिष्ठामा असर मात्र नपारी छिमेकी देशहरू-विशेष गरी चीन र दक्षिण कोरिया-सँगको सम्बन्धमा पनि तनाव ल्यायो।
प्रतिबन्धका कारण जापानको समुद्री खाद्य उद्योग, विशेषतः स्क्यालप र समुद्री काँक्रा निर्यातमा ठूलो असर परेको थियो। चीन जापानी समुद्री खाद्य पदार्थहरूको सबैभन्दा ठूलो विदेशी बजार हो।
हाल पनि चीनले फुकुसिमा र वरपरका नौ प्रान्तका समुद्री उत्पादनमाथि प्रतिबन्ध कायम राखेको छ। किहाराका अनुसार, जापानले बाँकी प्रतिबन्धहरू हटाउन र जापानी गोमांसको आयात पनि पुनः सुरु गर्न चीनलाई निरन्तर आग्रह गर्नेछ।
किहाराले भने, ‘हाम्रो लक्ष्य जापानी समुद्री खाद्य उद्योगप्रति विश्वास पुनः स्थापित गर्नु र पारदर्शिताका माध्यमबाट अन्तर्राष्ट्रिय समुदायलाई निश्चिन्त गराउनु हो।’
गत अक्टोबर ३१ मा दक्षिण कोरियामा आयोजित एपेक आर्थिक नेताहरूको बैठकको साइडलाइनमा चीनका राष्ट्रपति सी चिनपिङ र जापानी प्रधानमन्त्री ताकाइची सानेबिच भेटवार्ता भएको थियो। एपी
प्रकाशित: २२ कार्तिक २०८२ ०७:११ शनिबार





