संयुक्त राज्य अमेरिकाले क्यानाडाली वस्तुमाथि थप शुल्क लगाएपछि क्यानाडाले मंगलबार त्यसको जवाफी कदम घोषणा गर्ने भएको छ। दुई देशबीच हप्तौँसम्म चलेको वार्ता नयाँ अमेरिकी शुल्क रोक्ने सहमतिमा पुग्न नसकेपछि व्यापारिक तनाव थप चुलिएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानाडाबाट आयात हुने मोटरमा अर्को वर्षदेखि शुल्क बढाएर ५० प्रतिशतसम्म पुर्याउने बताएका छन्। यसअघि क्यानाडाली मोटरमा गैरअमेरिकी सामग्रीका लागि २५ प्रतिशत शुल्क थियो । अमेरिकाले क्यानाडाली वस्तुमाथि ५० प्रतिशतसम्मको नयाँ शुल्क शनिबारदेखि लागू गरेको थियो।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले यसअघि अमेरिकी कदमको जवाफमा सेप्टेम्बर ८ देखि लागू हुने प्रतिशोधात्मक शुल्क घोषणा गरेका थिए। त्यसमा अमेरिकी स्टिल, दुग्धजन्य पदार्थ, कृषि उपकरण, कागज र विद्युतीय सामग्रीलगायत वस्तु समेटिएका छन्। उनले अमेरिकी वार्ताकारले मोटर, स्टिल र आल्मुनियमजस्ता क्यानाडाका प्रमुख उद्योगलाई असर पार्ने अनुचित सर्त अघि सारेको आरोप लगाएका छन्।
क्यानाडाको कुल निर्यातमध्ये करिब ७० प्रतिशत अमेरिकी बजारमा जाने भएकाले व्यापार विवादले क्यानाडाली उद्योग र रोजगारीमा असर पार्ने चिन्ता बढेको छ। एङ्गस रिड इन्स्टिच्युटको सर्वेक्षणमा चारमध्ये तीन क्यानाडालीले अमेरिकी दबाबका बाबजुद व्यापार वार्ताबाट पछि नहट्ने सरकारको निर्णयलाई समर्थन गरेका छन् भने पाँचमध्ये करिब दुई जनाले रोजगारीबारे चिन्ता व्यक्त गरेका छन्।
ओन्टारियोका प्रिमियर डग फोर्डले अमेरिकी मोटर शुल्कको विरोध गर्दै आवश्यक परे अमेरिकातर्फ निर्यात हुने विद्युत्मा अधिभार लगाउन सकिने चेतावनी दिएका छन्। यसअघि ओन्टारियोले तीन अमेरिकी राज्यमा विद्युत् निर्यातमा २५ प्रतिशत अधिभार लगाएको थियो।
ह्वाइट हाउसले क्यानाडाले अमेरिकी मदिरा, मोटर र दुग्धजन्य पदार्थमा भेदभावपूर्ण शुल्क लगाएको आरोप लगाएको छ। पछिल्लो अमेरिकी शुल्कले करिब ५।५ प्रतिशत क्यानाडाली वस्तु प्रभावित हुने र त्यसको मूल्य करिब २० अर्ब अमेरिकी डलर रहेको बताइएको छ।
यसैबीच, दुई देशले संयुक्त राज्य अमेरिका मेक्सिको–क्यानाडा स्वतन्त्र व्यापार सम्झौता (युएसएमसीए) को संशोधनसम्बन्धी विषय पनि टुङ्ग्याउनुपर्नेछ। राष्ट्रपति ट्रम्पले सम्झौतालाई वर्तमान स्वरूपमा नवीकरण नगर्ने बताउँदै आएका छन्। पछिल्लो विवादले लामो समयदेखि निकट सम्बन्धमा रहेका दुई छिमेकीबीच आर्थिक तथा राजनीतिक तनाव थप बढाएको छ।
प्रकाशित: ९ भाद्र २०८३ १२:५१ मंगलबार





