इरानले युद्धविराम अवधिभर होर्मुज नाका खुला गर्ने जनाएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा लागू भएको युद्धविराम अवधिभर होर्मुज नाका पूर्ण रूपमा खुला रहने बताएका छन्।
उनका अनुसार १० दिनको युद्धविराम अवधिमा सबै व्यावसायिक जहाजहरूलाई उक्त सामुद्रिक मार्गबाट निर्बाध आवतजावत गर्न अनुमति दिइएको छ।
अराघचीले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन्, ‘लेबनानमा भएको युद्धविरामअनुसार होर्मुज जलघाँटी हुँदै सबै व्यावसायिक जहाजहरूको आवागमनलाई युद्धविरामको बाँकी अवधिसम्म पूर्ण रूपमा खुला घोषणा गरिएको छ।’
उनले यो आवागमन इरान इस्लामिक गणतन्त्रको बन्दरगाह तथा समुद्री संगठनले पूर्वनिर्धारित रूपमा जारी गरेको समन्वित मार्गअनुसार सञ्चालन हुने पनि स्पष्ट पारेका छन्।
अराघचीको घोषणासँगै विश्वव्यापी इन्धन आपूर्ति सहज हुने र पछिल्लो समय देखिएको ऊर्जा सङ्कट कम हुने अपेक्षा गरिएको छ।
प्रकाशित: ४ वैशाख २०८३ १९:३१ शुक्रबार





