२८ भाद्र २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेसिया : डुबेको जहाजबाट १०३ जनाको उद्धार, १४० जना अझै बेपत्ता

इन्डोनेसियामा यात्रुवाहक जहाज डुब्दा बेपत्ता भएका १४० जनाको खोजी भइरहेको छ।

उद्धारकर्ताहरूले जहाजमा सवार २४३ जनामध्ये १०३ जनालाई उद्धार गरेका छन्। उद्धार गरिएकामध्ये एक जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

खराब मौसमका कारण आइतबार बिहान जहाजसँग सम्पर्क विच्छेद भएको थियो। त्यसपछि जाभा सागरमा जहाज बेपत्ता भएको खबर आएको थियो। इन्डोनेसियाको खोज तथा उद्धार एजेन्सीका अनुसार पछि जहाज डुबेको पुष्टि भएको रोयटर्सले उल्लेख गरेको छ।

एजेन्सीको बन्जारमासिन कार्यालयका प्रमुख आई पुटु सुदयानाले भिडियो वक्तव्यमार्फत विभिन्न जहाजको सहयोगमा १०३ जनालाई उद्धार गरिएको जानकारी दिएका छन्। उद्धार गरिएकामध्ये केहीलाई पूर्वी जाभास्थित बन्दरगाहमा लगिने उनले बताए।

बेपत्ता यात्रुहरूको खोजीका लागि उद्धारकर्ताहरूले जहाजको अन्तिम अवस्थिति रहेको क्षेत्रमा टोली परिचालन गरेका छन्। खोजी कार्यमा विभिन्न जहाज र हेलिकप्टरसमेत प्रयोग गरिएको सुदयानाले बताएका छन्।

करिब १७ हजार टापुहरू रहेको इन्डोनेसियामा यातायातको प्रमुख माध्यमका रूपमा फेरी तथा यात्रुवाहक जहाजहरू प्रयोग गरिन्छन्। समुद्री यात्रा हवाई यात्राभन्दा सस्तो र सहज हुने भएकाले त्यहाँका नागरिकहरू आवतजावतका लागि यस्ता जहाजमा निर्भर छन्।

यद्यपि, इन्डोनेसियामा समुद्री यातायातको सुरक्षा मापदण्ड प्रभावकारी रूपमा लागू नहुँदा दुर्घटनाको जोखिम उच्च रहने गरेको छ। 

प्रकाशित: २८ भाद्र २०८३ १४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App