भारतीय वायुसेवा कम्पनी इन्डिगोले साउदी अरबको रियादबाट आउने र त्यहाँ जाने उडानहरू सन् २०२६ अक्टोबर ३१ सम्म (उक्त दिनसमेत) रद्द गर्ने निर्णय गरेको छ।
इन्डिगोले जारी गरेको विज्ञप्तिमा बदलिँदो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै उडान रद्द गर्ने निर्णय गरिएको जनाएको छ। त्यस्तै, जेद्दा, दमाम र मदिनाबाट आउने तथा त्यहाँ जाने उडानहरू अक्टोबर २७, २०२६ सम्म रद्द रहने कम्पनीले जनाएको छ।
इन्डिगोले यात्रु र चालक दलका सदस्यहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता रहेको बताएको छ। वायुसेवा कम्पनीले परिस्थितिलाई निरन्तर निगरानी गरिरहेको र अवस्थाको मूल्याङ्कन गर्न सम्बन्धित अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ।
उडान रद्द भएका यात्रुहरूलाई बुकिङ गर्दा उपलब्ध गराएको सम्पर्क विवरणमार्फत जानकारी दिइरहेको कम्पनीले बताएको छ। यात्रुहरूलाई विमानस्थल जानुअघि इन्डिगोको आधिकारिक वेबसाइटमा गएर आफ्नो उडानको अवस्था जाँच गर्न पनि आग्रह गरिएको छ।
यात्रा योजनामा पर्न सक्ने असुविधा र अनिश्चितताप्रति इन्डिगोले दुःख व्यक्त गरेको छ।
इन्डिगोको उक्त विज्ञप्ति पुनःप्रकाशित गर्दै साउदी अरबस्थित भारतीय दूतावासले पनि रियादबाट आउने तथा त्यहाँ जाने उडानहरू अक्टोबर ३१ सम्म र जेद्दा, दमाम तथा मदिनाबाट आउने र त्यहाँ जाने उडानहरू अक्टोबर २७ सम्म रद्द रहने जानकारी दिएको छ।
प्रकाशित: ६ कार्तिक २०८३ १३:४३ शुक्रबार





