भारत, उत्तर प्रदेशको मेरठबाट एउटा डरलाग्दो घटना बाहिर आएको छ। एक महिलाले आफ्नो प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्न विगत एक वर्षदेखि योजना बुनेकी थिइन्।
उनले इन्टरनेटमा भारतभर भएका पति हत्याका घटना र प्रहरीले कसरी अपराधी समात्छन् भन्ने कुराको गहिरो अध्ययन गरेकी थिइन्।
आफ्नो श्रीमान अतुल कुमारसँग विवाहको दुई वर्षपछि सम्बन्ध बिग्रिएपछि दामिनीले यस्तो कदम उठाएकी हुन्। उनी आफ्नो स्कूलको भ्यान चालक तुषारसँग प्रेममा थिइन्। अतुल उनीहरूको सम्बन्धमा मुख्य बाधा बनेपछि दामिनीले उनलाई सधैँका लागि हटाउने योजना बनाइन्।
भारतीय सञ्चारमाध्यका अनुसार दामिनीले अन्य चर्चित हत्याकाण्डहरूको अध्ययन गरेकी थिइन्। उनले केही समय अघि अतुललाई गाडीले ठक्कर दिने प्रयास गरेकी थिइन्, तर सफल भइनन्। दामिनीले केही समयदेखि अतुलको खानामा निद्राको औषधि मिसाउँदै पनि आएकी थिइन्।
बिहीबार राति दामिनीले अतुलको दूधमा निद्राको औषधि मिसाइन्। अतुल गहिरो निद्रामा सुतेपछि उनले प्रेमी तुषारलाई बोलाइन्। तुषारले सोनु र उदय नामका दुई जना सर्प समात्ने मानिसहरूसँग ५ लाख भारतीय रुपैयाँमा सम्झौता गरेर विषालु सर्प ल्याएका थिए। उनीहरूले सुतिरहेका अतुलको कोठामा सर्प छोडिदिए। शुक्रबार बिहान कोठामा मृत अवस्थामा भेटिएका अतुलको खुट्टामा टोकेको निशान थियो। दामिनीले परिवारलाई 'सर्पले टोकेर अतुलको मृत्यु भयो' भनेर झुक्याउने प्रयास गरिन्।
सुरुमा सर्पले टोकेर मृत्यु भएको घटनालाई परिवारले सामान्य दुर्घटना ठानेका थिए। तर, दामिनीको शंकास्पद बयान र प्रहरीको अनुसन्धानले गर्दा वास्तविकता खुल्यो।
प्रहरीले दामिनीको कल डिटेल जाँच गर्दा तुषारसँग निरन्तर कुराकानी भएको खुल्यो। पक्राउ परेपछि तुषारले मोबाइलमा बक्सभित्र रहेको सर्पको फोटो देखाए, जुन घटनास्थलमा भेटिएको सर्पसँग मेल खान्थ्यो। सोधपुछको क्रममा तुषारले सबै कुरा स्वीकार गरेका छन्। उनीहरूले अतुलको २० लाख भारतीय रुपैयाँको बिमा रकम हत्याएर नयाँ जीवन सुरु गर्ने योजना समेत बनाएका थिए।
अतुलका बुबा अजब सिंहले छोराको मृत्युपछि यस्तो भयानक सत्य बाहिर आएकोमा दुःख व्यक्त गरे। अहिले हस्तिनापुर प्रहरीले दुवै जनालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ।
प्रकाशित: २ श्रावण २०८३ १३:२१ शनिबार

