जापानमा सोमबार भारी वर्षा हुँदा टोकियोसहित पूर्वी जापानका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ।
जापानको मौसम विज्ञान एजेन्सीले टोकियोको दक्षिणमा रहेका निजिमा र ओशिमा टापुसहित विभिन्न क्षेत्रमा पहिरो, बाढी र नदीको सतह बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। एजेन्सीका अनुसार निजिमामा २४ घण्टामा ४८० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। इजु ओशिमा टापुमा स्थानीय समय अनुसार सोमबार बिहान ९:१० बजेसम्म २४ घण्टामा ५५५ मिलिमिटर वर्षा भएको छ, जुन अत्याधिक वर्षामध्ये एक हो।
भारी वर्षाका कारण टोकियो, चिबा, कानागावा र आसपासका क्षेत्रमा डुबान परेको छ। चिबामा भारी वर्षाका कारण दुई जना सामान्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। फुकुशिमा प्रान्तको इवाकीमा अन्डरपासमा डुबेको कारबाट ६० वर्षकी एक महिलालाई बेहोस अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो। उनलाई अस्पतालले मृत घोषित गरेको स्थानीय अग्नि नियन्त्रण विभागले जनाएको छ। अर्को कारमा रहेका व्यक्ति भने सकुशल बाहिरिएका छन्।
भारी वर्षाका कारण देशभर ७४८ सार्वजनिक प्राथमिक र माध्यमिक विद्यालयले कक्षा रद्द गरेका छन्। रेल सेवा पनि प्रभावित भएको छ। पूर्वी जापान रेलवेको यामानोते, चुओ र सोबु लाइनमा सामान्यभन्दा २० देखि ३० प्रतिशत कम रेल सञ्चालन भएका छन्। केही शिन्कान्सेन सेवामा पनि ढिलाइ तथा अवरोध भएको छ। मौसम एजेन्सीले कान्टो क्षेत्र, इजु टापु र तोहोकु क्षेत्रमा थप भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।
विशेषगरी रेखीय वर्षा क्षेत्र बनेमा छोटो समयमा अत्यधिक वर्षा हुन सक्ने भएकाले पहिरो, बाढी र नदीको सतह बढ्न सक्ने जोखिमप्रति सतर्क रहन आग्रह गरिएको छ। सम्भावित क्षतिको आकलन तथा आपत्कालीन प्रतिक्रियाका लागि केन्द्र सरकारले प्रधानमन्त्री कार्यालयमा सम्पर्क मुख्यालय स्थापना गरेको छ।
प्रकाशित: २२ भाद्र २०८३ १४:०६ सोमबार





