१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सुरक्षा डोरीबिना नै पुलबाट खसाउँदा युवतीको मृत्यु : हत्या आरोपमा तीन प्रशिक्षक पक्राउ

शनिबार ब्राजिलको लिमेरामा कुनै पनि उपकरणमा राम्रोसँग जडान नगरी (नबाँधी) पुलबाट १३० फिटभन्दा बढी तल खसाल्दा एक महिलाको डोरी हामफाल्ने (रोप जम्पिङ) क्रममा मृत्यु भएको थियो। 

उक्त घटनामा संलग्न तीन जना पुरुषमाथि हत्याको आरोप लगाइएको छ। ३२ वर्षीय लुइस फेलिप फेलिसियानो एगोरोफ, २७ वर्षीय भिटोर डे फ्रेटास गोन्काल्भेस र ४२ वर्षीय माइकन फर्नान्डेस सिन्ट्रालाई आइतबार पक्राउ गरिएको थियो। स्थानीय अधिकारीहरूका अनुसार उनीहरूमाथि अन्ततः 'नियतवश हत्या' को आरोप लगाइएको छ। साओ पाउलो राज्यको पूर्वी भागमा रहेको लिमेरा शहरको प्रहरीका अनुसार उनीहरूलाई 'फ्ल्याग्रान्टे' (अपराध लगत्तै वा भाग्ने प्रयासका क्रममा) पक्राउ गरिएको थियो।

ब्राजिलको कानून अनुसार यो आरोप त्यस्ता घटनाहरूमा लागू हुन्छ जहाँ अपराधीहरूको स्पष्ट रूपमा मार्ने मनसाय त हुँदैन। तर उनीहरूले घातक जोखिम हुन सक्छ भन्ने थाहा पाउँदापाउँदै पनि त्यस्तो खतरनाक कार्य गर्छन्। उनीहरू अहिले हिरासतमा छन्।

प्रहरी अधिकारी एन्ड्रिया लेवीले पक्राउ परेका तीनै जना पुरुष जम्पिङ प्रशिक्षक रहेको जानकारी दिइन्। उनीहरूले २१ वर्षीया मारिया एडुआर्डा रोड्रिग्स डे फ्रेटासलाई सुरक्षा डोरीमा नजोडिएको कुरा स्वीकार गरेका छन्। तर उनको उपकरण जाँच गर्ने जिम्मेवारी कसको थियो भन्ने कुरा भने आफूहरूलाई याद नभएको उनीहरूले बताए।

अनलाइनमा भाइरल भएका भिडियोहरूमा एडुआर्डा आफ्नो मृत्यु हुनुभन्दा केही क्षण अघि दुवै हात फैलाएर हावामा उडिरहेको देखिन्छ। भिडियोमा दुई जना पुरुषहरूले उनलाई टाउको माथि उठाएर पुलको छेउबाट तल फ्याँकेको देखिन्छ भने तेस्रो व्यक्तिले हेरिरहेका छन्। उनले हेलमेट लगाएको देखिए पनि शरीरमा कुनै सुरक्षा डोरी (कर्ड) बाँधिएको देखिँदैन। 

स्थानीय सञ्चारमाध्यमका अनुसार 'स्केलेटन ब्रिज' भनिने यो पुल कुनै समय रेलवे लाइनको हिस्सा थियो, जुन धेरै वर्षदेखि बन्द छ। एडुआर्डासँग यसअघि रोप जम्पिङको अनुभव थियो कि थिएन भन्ने कुरा तुरुन्तै स्पष्ट हुन सकेको छैन।

स्थानीय रिपोर्टहरूका अनुसार एडुआर्डाकी आमाले आफ्नी छोरीको दुखद मृत्युपछि सामाजिक सञ्जालमा एउटा भावुक सन्देश पोस्ट गरेकी छिन्। उनले लेखेकी छिन्, ‘मेरी प्यारी छोरी, आज म तिमीलाई हजार पटकभन्दा बढी अँगालो हाल्न चाहन्थेँ। तिम्रो बिदाइले मलाई कति पीडा दियो। म तिमीलाई सधैंभरि माया गर्नेछु, मेरी राजकुमारी। र यी २१ वर्षसम्म मेरो जीवनको हिस्सा बनेकोमा धेरै धेरै धन्यवाद। तिमीले मलाई आमा भनेर बोलाएको सुन्न पाउनु मेरो लागि गौरवको कुरा थियो। भगवान, यो विशेषाधिकारका लागि धन्यवाद।’

स्केलेटन ब्रिज वरपरको क्षेत्रलाई सुरक्षित राख्न बारम्बार गरिएका प्रयासहरूलाई उद्धृत गर्दै, सहरका अधिकारीहरूले एक विज्ञप्ति जारी गरेका छन्। जसमा उनीहरूले एडुआर्डाको मृत्युको विषयलाई लिएर संघीय सरकारविरुद्ध मुद्दा हाल्ने योजना बनाएको बताएका छन्। एजेन्सी

प्रकाशित: ३ असार २०८३ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App