७ कार्तिक २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हि’टलरले प्रयोग गरेका भवन ‘ईगल्स नेस्ट’ मा आ’गलागी, एक जना पक्राउ

नाजी जर्मनीका तानाशाह एडोल्फ हिटलर र उनका अधिकारीहरूले प्रयोग गर्ने गरेको जर्मनीको प्रसिद्ध ऐतिहासिक भवन ‘ईगल्स नेस्ट’मा आगलागी भएको छ। आगलागीको घटनापछि प्रहरीले एक संदिग्धलाई पक्राउ गरेको छ।

दक्षिणी जर्मनीको बाभेरिया राज्यस्थित बर्चटेसगाडेन क्षेत्रमा रहेको उक्त भवनमा शुक्रबार राति आगलागी भएको हो। 

केहल्स्टाइनहाउस नामले पनि चिनिने यो भवनमा आगलागी भएपछि करिब २०० जना अग्निनियन्त्रक तथा आपत्कालीन उद्धारकर्मी आगो निभाउन खटिएका थिए।

प्रहरीका अनुसार स्थानीय समयअनुसार शुक्रबार राति ९ः१५ बजे भवनमा आगलागी भएको सूचना प्राप्त भएको थियो।

घटनास्थलमा पुगेका अग्निनियन्त्रकहरूले भवनमा आगो फैलिएको पाएका थिए। पहाडी क्षेत्रको कठिन भूगोलका कारण आगो नियन्त्रणमा लिन समस्या भएको थियो। शनिबार बिहानसम्म पनि आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

आगलागी भएको स्थान नजिकै एक संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ती व्यक्ति आगलागीमा संलग्न थिए वा थिएनन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

आगलागीको कारण र सम्भावित उद्देश्यबारे भने प्रहरीले तत्काल केही खुलाएको छैन। घटनामा कुनै पनि व्यक्ति घाइते भएको खबर आएको छैन।

सन् १९३८ मा नाजी अधिकारीहरू र उनीहरूका पाहुनाका लागि अतिथि गृहका रूपमा निर्माण गरिएको यो भवन जर्मनीको आल्प्स पर्वतमालाको सुन्दर पहाडी क्षेत्रमा अवस्थित छ।

हिटलरले यस क्षेत्रलाई आफ्नो विश्रामस्थलका रूपमा प्रयोग गर्नुका साथै राजनीतिक तथा सैन्य गतिविधिसँग सम्बन्धित भेटघाटका लागि पनि उपयोग गरेका थिए।

हिटलरको नजिकै रहेको बर्घोफ नामक ग्रीष्मकालीन निवासभन्दा यो भवन फरक हो। हिटलरले बर्चटेसगाडेन क्षेत्रलाई आफूलाई प्रकृति र जनावरप्रेमीका रूपमा प्रस्तुत गर्ने प्रचार सामग्रीमा समेत प्रयोग गरेका थिए।

दोस्रो विश्वयुद्धका क्रममा हिटलर र नाजी शासनले लाखौँ मानिसको ज्यान जाने गरी हिंसा र अत्याचार मच्चाएका थिए।

यहुदी समुदायको योजनाबद्ध सामूहिक हत्यासहितका अमानवीय अपराधका कारण नाजी शासन इतिहासकै क्रूर शासनमध्ये एकका रूपमा चिनिन्छ।

युद्धपछि ‘ईगल्स नेस्ट’लाई नाजी शासनको इतिहास सम्झाउने ऐतिहासिक स्थलका रूपमा संरक्षण गरिएको छ। हाल बाभेरिया राज्यको स्वामित्वमा रहेको यो भवन लोकप्रिय पर्यटकीय गन्तव्यसमेत बनेको छ। यहाँ पहाडी सराय सञ्चालनमा छ।

प्रकाशित: ७ कार्तिक २०८३ १५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App