२७ मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिल्ड मार्सल मुनीरको आणविक धम्कीले भारत-पाकिस्तानबिच फेरि तनाव चर्कियो

पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असीम मुनीरको आणविक बयानले भारत र पाकिस्तानबिच तनाव बढेको छ। भारतीय विदेश मन्त्रालयको कडा प्रतिक्रियापछि पाकिस्तानी विदेश मन्त्रालयले पनि जवाफ फर्काएको छ।

पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, ‘पाकिस्तान भारतीय विदेश मन्त्रालयको अपूर्ण बयानलाई पूर्ण रूपमा अस्वीकार गर्छ। फेरि एक पटक तथ्यलाई तोडमोड गरिएको छ। भारतले बयानलाई सन्दर्भबाट बाहिर प्रस्तुत गरेको छ।’

पाकिस्तानले ‘कथित आणविक ब्ल्याकमेल’ सम्बन्धी भारतको कथन भ्रामक जनाएको छ। मन्त्रालयले भनेको छ, ‘पाकिस्तान धम्की वा बल प्रयोगको विरुद्धमा दृढतापूर्वक उभिएको छ।’ 

अमेरिका भ्रमणमा रहेका बेला पाकिस्तानी सेना प्रमुख असीम मुनीरले एक कार्यक्रममा भारतसँगको सम्भावित युद्धमा आफ्नो देशको अस्तित्व खतरामा परे सम्पूर्ण क्षेत्र आणविक युद्धमा डुब्ने चेतावनी दिएका थिए।

मुनीरको यो बयानपछि भारतीय विदेश मन्त्रालयले कडा प्रतिक्रिया जनाएको थियो। 

भारतीय विदेश मन्त्रालयले भने, ‘यस्ता अभिव्यक्तिले पाकिस्तान कति गैरजिम्मेवार छ भनेर अन्तर्राष्ट्रिय समुदायले सजिलै बुझ्न सक्छ। यी अभिव्यक्तिले आतंककारीसँग गठबन्धन गरेको देश (पाकिस्तान) मा आणविक हतियारको सुरक्षा र नियन्त्रणमाथि विश्वास गर्न सकिँदैन भन्ने शंकालाई अझ बढाउँछ।’

मन्त्रालयले थप भनेको छ, ‘यो पनि दुर्भाग्यपूर्ण छ कि यी अभिव्यक्ति एक मित्र तेस्रो देश (अमेरिका) को माटोबाट दिइएका थिए। भारतले पहिल्यै स्पष्ट गरिसकेको छ कि यो आणविक खतराको अगाडि झुक्ने छैन। हामी हाम्रो राष्ट्रिय सुरक्षाका लागि सबै आवश्यक कदम चाल्न जारी राख्नेछौं।’

गत मेमा जम्मु कश्मीरकाे पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच पाँच दिने सैन्य संघर्ष भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्तक्षेप गरेपछि युद्ध रोकिएको थियो। 

अमेरिकाको यो दाबीलाई भारतले अस्वीकार गर्दै आएको छ। उता पाकिस्तानले भने ट्रम्पको कुरामा समर्थन जनाउँदै नोबेल शान्ति पुरस्कारका लागि नाम समेत सिफारिस गरेको छ। एजेन्सी

प्रकाशित: २७ श्रावण २०८२ ११:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App