१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा चरम गर्मी, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल

भारतमा बढ्दो चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार कडा चेतावनी जारी गरेका छन्।

विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा तापक्रम असामान्य रूपमा बढिरहेका बेला उनले नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेका हुन्।

यसैबीच, जङ्गलमा लागेको आगो नियन्त्रण गर्न सेनाले लामो समयसम्म सङ्घर्ष गरिरहेको छ भने गर्मीका कारण मृत्युका घटनासमेत रिपोर्ट भएका छन्।

अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन प्लेटफर्म एक्युआईका अनुसार बुधबार दिउँसो विश्वका ४५ सबैभन्दा तातो सहरमध्ये अधिकांश भारतमै रहेका थिए, जहाँ तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। यस्तो अवस्थाले देशका धेरै भागमा जनजीवन प्रभावित बनेको छ।

प्रधानमन्त्री मोदीले आफ्नो कार्यालयमार्फत जारी गरेको सन्देशमा भारतका विभिन्न क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको र यसले नयाँ चुनौती सिर्जना गरिरहेको उल्लेख गरे। उनले गर्मीको असरलाई हल्का रूपमा नलिन आग्रह गर्दै सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन अपिल गरे।

उनले अत्यधिक गर्मीले शरीरमा पानीको कमी (डिहाइड्रेसन) ल्याउने, रगत गाढा बनाउने तथा गम्भीर अवस्थामा अङ्ग फेल हुने जोखिम हुने बताए।

चेतावनीको सङ्केतलाई बेवास्ता गर्दा अवस्था अझ खतरनाक बन्न सक्ने र ‘हिट स्ट्रोक’ को सम्भावना बढ्ने उनको भनाइ छ।

यसैबीच, गत साता मात्रै दक्षिणी राज्य तेलङ्गानामा गर्मीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ। गर्मीबाट बालबालिका, वृद्ध तथा बाहिर काम गर्ने श्रमिकहरू सबैभन्दा बढी जोखिममा रहेको प्रधानमन्त्रीले उल्लेख गरे।

भारत मौसम विज्ञान विभाग (आइएमडी) का अनुसार उत्तर प्रदेशको बान्दा सहरमा मङ्गलबार ४७.४ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। यो सामान्यभन्दा ३.८ डिग्री बढी हो। यस महिनाको सुरुमै सोही क्षेत्रमा तापक्रम ४८.२ डिग्री सेल्सियससम्म पुगेको थियो।

राजधानी नयाँदिल्लीमा बुधबार दिउँसो तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ। विज्ञहरूका अनुसार गर्मी बढ्दै जाँदा वन डढेलोको जोखिम पनि उच्च बन्दै गएको छ।

यसै सन्दर्भमा भारतीय सेनाले हिमालयन क्षेत्रको पहाडी सहर कसौली नजिक लागेको डढेलो नियन्त्रण गर्न १६ घण्टाभन्दा बढी समयसम्म प्रयास गरेको जनाएको छ।

सेनाका अनुसार वायु सेनाका हेलिकप्टरहरूले ठूलो मात्रामा पानी खसालेर आगो नियन्त्रणमा निर्णायक भूमिका खेलेका छन्, यद्यपि आगो निभाउने कार्य अझै जारी छ।

मौसम विभागले गर्मी बढेसँगै देशका विभिन्न भागमा पानीको अभाव गहिरिँदै गएको चेतावनीसमेत दिएको छ। ‘नदीहरू सुक्ने, भू–जल स्तर घट्ने, खडेरी र पानी सङ्कट बढ्ने अवस्थाबीच प्रत्येक थोपा महत्त्वपूर्ण हुन्छ’ भन्दै विभागले नागरिकलाई पानी बचत गर्न आग्रह गरेको छ।

विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण उष्ण लहरहरू पहिलेभन्दा लामो, बारम्बार र बढी तीव्र हुँदै गएका छन्। दिनको उच्च तापक्रमसँगै राति पनि न्यून तापक्रम नघट्दा मानिसहरूलाई राहत मिल्न कठिन भइरहेको छ।

भारतमा हालसम्मकै उच्च आधिकारिक तापक्रम सन् २०१६ मा राजस्थानको फलोदीमा ५१ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। वर्तमान अवस्थाले त्यसतर्फ पुनः उन्मुख हुने सङ्केत देखिन थालेको भन्दै स्वास्थ्य र वातावरणीय जोखिमप्रति थप सतर्कता अपनाउन विशेषज्ञहरूले आग्रह गरेका छन्।

प्रकाशित: १३ जेष्ठ २०८३ १७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App