३१ भाद्र २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानी आक्रमणबाट अमेरिकी सैन्य अड्डामा व्यापक क्षति, नयाँ तस्बिर सार्वजनिक

इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट मध्यपूर्वका अमेरिकी सैन्य अड्डामा व्यापक क्षति भएको नयाँ तस्बिरहरूले देखाएका छन्। 

सीबीएस न्युजले प्राप्त गरेका तस्बिरमा भवन, सवारी साधन र विमानमा ठुलो क्षति पुगेको देखिन्छ। सेनाभित्रको कडा सञ्चार प्रतिबन्धका कारण नाम नखुलाउने सर्तमा सक्रिय अमेरिकी सैनिकहरूले ती तस्बिर पठाएका हुन्।

साउदी अरेबियाको प्रिन्स सुल्तान एयर फोर्स बेसमा खिचिएको तस्बिरमा बोइङ ई-३ सेन्ट्री विमानमा सिधा प्रहार भएको देखिन्छ। विमानको पछाडिको भाग र पुच्छरमा ठुलो क्षति पुगेको छ।

कुवेतको क्याम्प बुहरिङमा खिचिएका तस्बिरमा भवन, ब्यारेक, ट्रेलर र सवारी साधनमा क्षति पुगेको देखिन्छ। क्याम्प आरिफजानमा पनि भवनमा क्षति पुगेको छ।

अमेरिकी रक्षा विभागका महानिरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार इरानसँगको युद्धमा करिब ६० विमानसहित ३.७ अर्ब डलरसम्मको उपकरण क्षति भएको छ। प्रतिवेदनमा कुवेत, बहराइन, कतार, यूएई, साउदी अरेबिया, इराक, ओमान र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डामा इरानी आक्रमण भएको उल्लेख छ।

एक अमेरिकी सैनिकले भने, ‘यो हाम्रा सैन्य अड्डामा भएको ठुलो क्षति हो, जुन अमेरिकी जनतालाई जानकारी गराइएको छैन।’ अर्का सैनिकले भने, ‘हामी यी अड्डाको रक्षा गरिरहेका छैनौँ। हामी केवल तिनीहरूलाई नष्ट भएको हेरिरहेका छौँ।’

प्रकाशित: ३१ भाद्र २०८३ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App