१० मंसिर २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एलन मस्कको कम्पनीलाई १० लाख स्याटेलाइट प्रक्षेपण गर्ने अनुमति, अन्तरिक्षमै डेटा सेन्टर बनाउने योजना

अमेरिकी नियामक निकायले उद्योगपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई पृथ्वीको कक्षमा १० लाख स्याटेलाइट प्रक्षेपण गर्न अनुमति दिएको छ।

यस परियोजनामार्फत कम्पनीले अन्तरिक्षमा डेटा सेन्टर स्थापना गर्ने योजना बनाएको छ। यस प्रकारको परियोजनालाई पहिलो पटक अनुमति दिइएको हो।

स्पेसएक्सले यी स्याटेलाइटलाई सूर्यको प्रकाशबाट प्राप्त ऊर्जामार्फत सञ्चालन गर्ने योजना बनाएको छ। ती स्याटेलाइटले कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी डेटा प्रशोधन गर्ने र त्यसबाट प्राप्त नतिजा पुनः पृथ्वीमा पठाउनेछन्।

अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले बुधबार यस परियोजनालाई स्वीकृति दिँदै यसले अमेरिकामा तीव्र रूपमा विस्तार भइरहेको सुपर इन्टेलिजेन्स उद्योगलाई थप मजबुत बनाउने जनाएको छ। यस परियोजनाको नाम ‘स्टारमाइन्ड’ राखिएको बताइएको छ।

अमेरिकाका विभिन्न क्षेत्रमा स्थानीय बासिन्दाले जमिनमा डेटा सेन्टर विस्तार गर्ने योजनाको विरोध गरिरहेका बेला यो अनुमति दिइएको हो।

स्पेसएक्सका अनुसार अन्तरिक्षमा स्थापना गरिने डेटा सेन्टर बढ्दो एआई कम्प्युटिङ आवश्यकताहरू पूरा गर्ने किफायती विकल्प बन्न सक्छन्।

कम्पनीको भनाइमा पृथ्वीमा उपलब्ध विद्यमान स्रोतसाधनले भविष्यमा आवश्यक पर्ने कम्प्युटिङ क्षमतालाई धान्न नसक्ने अवस्था आउन सक्छ।

एफसीसीका अध्यक्ष ब्रेन्डन कारले यस निर्णयलाई अमेरिकाको प्राविधिक तथा आर्थिक नेतृत्वका लागि महत्त्वपूर्ण बताएका छन्। उनले यो परियोजनाले देशको कम्प्युटिङ पूर्वाधार विकासका लागि नयाँ बाटो खोल्ने बताए।

अनुमति प्राप्त भएको घोषणापछि प्रतिक्रिया दिँदै एलन मस्कले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘धेरै–धेरै धन्यवाद। यो अमेरिका र सम्पूर्ण विश्वका लागि ठूलो उपलब्धि साबित हुनेछ।’

प्रकाशित: १० मंसिर २०८३ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App