चीनको दक्षिणपश्चिमी क्षेत्र सिजाङ स्वायत्त क्षेत्रको बाकेन काउन्टीमा ७.० म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार भूकम्पले ३३९ घरपरिवारका घरमा क्षति पुर्याएको छ। स्थानीय समय अनुसार बिहीबार राति १० बजेर ३३ मिनेटमा नाग्कु सहरको बाकेन काउन्टीमा भूकम्प गएको थियो।
चीनका राष्ट्रपति सी जिनपिङले बेपत्ता तथा फसेका मानिसको खोजी, घाइतेको उपचार र प्रभावित बासिन्दाको सुरक्षालाई प्राथमिकता दिन निर्देशन दिएका छन्। उनले भूकम्पपछिको गतिविधि र मौसमको निगरानी गर्दै थप क्षति हुन नदिन तथा क्षतिग्रस्त पूर्वाधारको मर्मत छिटो गर्न पनि आग्रह गरेका हुन्।
भूकम्पपछि उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। सिन्ह्वाका अनुसार २० भन्दा बढी सवारीसाधनमा ३०० भन्दा बढी सैनिक प्रभावित क्षेत्रतर्फ परिचालन भएका छन्। प्रहरीले पनि ३०० भन्दा बढी अधिकारी खटाएको छ भने क्षेत्रीय अग्नि तथा उद्धार टोलीले ३४७ कर्मचारी र नौ हजार ४०० भन्दा बढी सहयोग सामग्री परिचालन गरेको छ। स्थानीय उद्धार टोलीले भूकम्पमा फसेका एक व्यक्तिलाई जीवितै उद्धार गरेको छ।
प्रभावित क्षेत्रमा एक हजार सेट पूर्वनिर्मित आवास, तीन हजार २०० भन्दा बढी पाल, दुई हजार ८०० भन्दा बढी फोल्डिङ बेड तथा सिरक, चुलो र लुगालगायत राहत सामग्री पुर्याइएको छ। विद्युत् आपूर्ति नियमित राख्न राज्य ग्रिड सिजाङ इलेक्ट्रिक पावर कम्पनीले कर्मचारी, सवारीसाधन र आवश्यक उपकरण परिचालन गरेको छ। स्वयंसेवक उद्धार टोलीले पनि उद्धार उपकरण र चिकित्सा सामग्रीसहित प्रभावित क्षेत्रमा काम गरिरहेको छ।
भूकम्पको केन्द्रनजिकको औसत उचाइ करिब चार हजार ८०० मिटर छ। चिसो मौसम र उच्च भूभागका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार यो सन् २०२६ मा चीनमा गएको अहिलेसम्मकै शक्तिशाली भूकम्प हो। बिहीबार राति छिङहाई प्रान्तको जाडोई काउन्टीमा पनि ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका लागि चीनको अर्थ मन्त्रालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले पाँच करोड युआन तथा राष्ट्रिय विकास तथा सुधार आयोगले पूर्वाधार र सार्वजनिक सुविधाको मर्मतका लागि थप तीन करोड युआन छुट्याएका छन्। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, घाइतेको उपचार र बासिन्दाको पुनर्वास कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।
प्रकाशित: ६ कार्तिक २०८३ १४:३२ शुक्रबार





-600x400.jpg)