सेप्टेम्बरको मध्यदेखि देशभर आएको बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेपछि थाइल्याण्डका अधिकारीले थप वर्षा र आकस्मिक बाढीको जोखिमबारे चेतावनी दिएका छन्।
थाइल्याण्डको मौसम विज्ञान विभागका अनुसार सोमबारदेखि बुधबारसम्म देशको माथिल्लो भेगका अधिकांश क्षेत्रमा चट्याङसहितको वर्षा र भारी वर्षा हुने सम्भावना छ। यसका कारण विशेषगरी होचा भू–भागमा आकस्मिक बाढीको जोखिम बढ्ने विभागले जनाएको छ।
सप्ताहन्तमा राजधानी बैंककसहित मध्य, पूर्वी र दक्षिणी क्षेत्रका केही भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।
गत साता लगातारको मुसलधारे वर्षापछि बैंककका धेरै क्षेत्र डुबानमा परेका थिए। बाढीका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै जनजीवनमा गम्भीर असर परेको थियो । केही होचा क्षेत्रमा अझै पानी जमेको भए पनि सहरको अवस्था सुधार हुँदै गएको अधिकारीले बताएका छन्।
थप बाढीको जोखिम कम गर्न बैंककका अधिकारीले विभिन्न उपाय अपनाइरहेका छन्। वर्षाको पानीको निकास क्षमता बढाउन मुख्य नहरबाट थप पानी निकाल्ने तथा उच्च जोखिमयुक्त क्षेत्रमा थप पानी तान्ने पम्प जडान गर्ने काम भइरहेको छ।
विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार सोमबारसम्म देशभर ३५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन्। बाढीमा मृत्यु हुने ३१ जनामध्ये चार जना बैंककका र बाँकी सातवटा अन्य प्रान्तका रहेको विभागले जनाएको छ।
बाढीबाट भएको व्यापक क्षतिपछि थाइ सरकारले गत साता पुनर्लाभका लागि चार दशमलव एक अर्ब भाटभन्दा बढी अर्थात् करिब १२ करोड २० लाख अमेरिकी डलरको आपत्कालीन कोष स्वीकृत गरेको थियो।
प्रकाशित: १९ आश्विन २०८३ १८:०५ सोमबार





