१४ भाद्र २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेनमा वर्षकै घातक रूसी आक्रमण : गोदाममा विस्फोट हुँदा ३७ जनाको मृत्यु

युक्रेनको राजधानी किभको पश्चिममा रहेको एक गोदाममा रूसी ड्रोन आक्रमणपछि भएको विस्फोट र आगलागीमा ३७ जनाको मृत्यु भएको छ।

युक्रेनी अधिकारीका अनुसार यो सन् २०२६ को युद्धमा भएको सबैभन्दा घातक आक्रमण हो। बुचा जिल्लाको मायला गाउँमा स्थानीय समयअनुसार शुक्रबार राति भएको आक्रमणमा गोला, बारुद र अन्य सैन्य सामग्री भण्डारण गरिएको गोदाममा ड्रोन प्रहार भएको थियो। त्यसपछि भएको ठुलो विस्फोट र आगलागीले आसपासका कम्तीमा ५० आवासीय भवनमा क्षति पुगेको छ। ३७० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

स्थानीय क्षेत्रीय सैन्य प्रशासनका प्रमुख टिमुर तकाचेन्कोका अनुसार मृत्यु हुनेमध्ये ३४ जना वृद्ध तथा अशक्त व्यक्तिको हेरचाह गृहका बासिन्दा थिए। स्थानीय बासिन्दा ओलेक्जेन्डर भोडोलाजले एपीसँग भने, ‘राति ८ बजेतिर ड्रोन गोदाममा ठोक्कियो र त्यसपछि विस्फोट सुरु भयो। कसैलाई त्यहाँ हतियार भण्डारण गरिएको छ भन्ने थाहा थिएन।’

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मानिसको बस्ती नजिकै गोला बारुद भण्डारण गर्नु गम्भीर लापरवाही भएको बताएका छन्। उनले घटनाबारे आपराधिक अनुसन्धान सुरु गरिएको बताए।

रूसको रक्षा मन्त्रालयले भने गोदाममा लामो दूरीका ड्रोनका लागि सामग्री र प्रक्षेपण बुस्टर भण्डारण गरिएको दाबी गरेको छ। मन्त्रालयले किभ क्षेत्रसहित अन्य स्थानका सैन्य तथा रसद केन्द्रमा पनि आक्रमण गरेको जनाएको छ।

यसैबिच, दक्षिणी खेरसन क्षेत्रमा रूसी आक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने एक बालबालिकासहित २७ जना घाइते भएका छन्। युक्रेनले पनि पछिल्ला महिनामा रूसी सैन्य उद्योग र ऊर्जा संरचनालाई लक्षित गर्दै लामो दूरीका ड्रोन आक्रमण बढाएको छ। राष्ट्रपति जेलेन्स्कीले दैनिक एक हजारसम्म लामो दूरीका ड्रोन प्रक्षेपण गर्ने लक्ष्य रहेको बताएका छन्।

रूसको रक्षा मन्त्रालयले शनिबार राति ३१३ युक्रेनी ड्रोन नष्ट गरेको दाबी गरेको छ। युक्रेनी ड्रोन आक्रमणका क्रममा रोस्तोभ क्षेत्रमा ११ जना घाइते भएको त्यहाँका गभर्नर युरी स्ल्युसारले बताएका छन्। एजेन्सी

प्रकाशित: १४ भाद्र २०८३ ०७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App