चक्रवात 'अकवान' शुक्रबार बिहान करिब ७:३० देखि ८:३० बजेको बीचमा भारतको आन्ध्र प्रदेश र ओडिशाको सीमास्थित गोपालपुर तटमा ठोक्किएको छ। चक्रवातको तटमा प्रवेश गर्ने प्रक्रिया अझै जारी रहेको र यो प्रक्रिया थप दुई घण्टासम्म चल्न सक्ने बताइएको छ। यस क्रममा हावाको गति ७० देखि ९० किलोमिटर प्रतिघण्टासम्म पुगेको छ।
चक्रवातको प्रभावले ओडिशा, आन्ध्र प्रदेश र पश्चिम बंगालमा तीव्र वर्षा भइरहेको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात पछिल्लो ६ घण्टामा २१ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढेको छ।
ओडिशामा करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उनीहरूका लागि दुई हजार ५२३ वटा राहत शिविर स्थापना गरिएको छ भने उद्धारका लागि ४२३ टोली परिचालन गरिएको छ।
पूर्वी रेलवेले ४१ वटा रेल र दक्षिण पूर्व रेलवेले २८ वटा एक्सप्रेस रेल रद्द गरेका छन्। त्यस्तै, २९ वटा रेलको समय परिवर्तन गरिएको छ। चक्रवातको प्रभाव भारतका १० राज्यमा पर्ने बताइएको छ।
ओडिशामा पहिरोको जोखिमलाई मध्यनजर गर्दै दरिङबाडी अग्नि नियन्त्रण सेवा र स्थानीय प्रहरीको टोलीले माथिल्लो किलाबाडी र तल्लो किलाबाडी गाउँबाट ९० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ।
पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेपछि संयुक्त उद्धार टोली तत्काल घटनास्थल पुगेको थियो। टोलीले सबै गाउँलेलाई सुरक्षित रूपमा बाहिर निकालेको हो।
उद्धार गरिएका मानिसहरूलाई दरिङबाडीस्थित सियाङबली उच्च माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी राहत शिविरमा पुर्याइएको छ। हाल सबै जना सुरक्षित रहेको बताइएको छ।
प्रकाशित: ४ मंसिर २०८३ ११:२१ शुक्रबार



-600x400.jpg)

