२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलिपिन्सलाई चीनको चेतावनी : समस्या निम्त्याउने काम बन्द गर

फाइल तस्बिर : चीनका राष्ट्रपति सी जिनपिङ र फिलिपिन्सका रक्षामन्त्री गिल्बर्टो टियोडोरो जुनियर

दक्षिण चीन सागरलाई लिएर फिलिपिन्सका रक्षामन्त्री गिल्बर्टो टियोडोरो जुनियरले दिएको अभिव्यक्तिप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ।

चीनले फिलिपिन्सलाई ‘ध्यान खिच्ने र समस्या निम्त्याउने काम बन्द गर्न’ चेतावनी दिएको हो। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बुधबार नियमित पत्रकार सम्मेलनमा दक्षिण चीन सागरसम्बन्धी चीनको अडान स्पष्ट र स्थिर रहेको बताइन्।

‘फिलिपिन्सका सम्बन्धित व्यक्ति (रक्षामन्त्री गिल्बर्टो टियोडोरो जुनियर) ले ध्यान खिच्ने र समस्या निम्त्याउने काम बन्द गर्नुपर्छ। चीन-फिलिपिन्स सम्बन्ध र दक्षिण चीन सागरको स्थिरता कमजोर पार्ने काम पनि रोक्नुपर्छ,’ माओले भनिन्।

दक्षिण कोरियामा मंगलबार आयोजित एक कार्यक्रममा टियोडोरोले दक्षिण चीन सागरमा चीनको दाबीको कुनै कानुनी आधार नभएको बताउँदै सन् २०१६ को मध्यस्थता फैसलालाई मान्नुपर्ने बताएका थिए। त्यही क्रममा उनलाई चीनबाट आएको भनिएको एउटा नोट दिइएको थियो।

नोट पढ्दै टियोडोरोले त्यसमा ‘चीनले मध्यस्थता फैसलालाई स्वीकार वा मान्यता दिँदैन’ भनिएको बताए। त्यसपछि उनले चीनतर्फ लक्षित गर्दै ‘अवश्य पनि, किनभने तपाईंहरू हार्नुभयो’ भनेका थिए।

माओले भने सन् २०१६ को मध्यस्थता मुद्दामा चीनको अडान परिवर्तन नभएको बताइन्। उनका अनुसार फिलिपिन्सले एकतर्फी रूपमा मुद्दा अघि बढाएर संयुक्त राष्ट्र संघको समुद्री कानूनसम्बन्धी महासन्धि (युएनसीएलओएस) अन्तर्गतको विवाद समाधान प्रक्रियाको दुरुपयोग गरेको छ।

चीनले सन् २०१६ मा हेगस्थित मध्यस्थता न्यायाधिकरणले गरेको फैसला अस्वीकार गर्दै आएको छ। दक्षिण चीन सागरको ठुलो हिस्सामाथि आफ्नो दाबी कायम राख्दै आएको चीन र फिलिपिन्सबिच पछिल्लो समय उक्त क्षेत्रमा तनाव बढिरहेको छ। एजेन्सी

प्रकाशित: २५ भाद्र २०८३ १०:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App