९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा चीनकी प्रथम महिला पेङको ‘सफ्ट पावर’ कूटनीति

चर्चामा पहिरनदेखि संस्कृतिसम्म

चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा उनकी पत्नी पेङ लियुआनले चीनको ‘सफ्ट पावर’ प्रस्तुत गर्ने भूमिका निभाएकी छन्।

अन्तर्राष्ट्रिय शिखर सम्मेलन तथा उच्चस्तरीय कार्यक्रममा देखिँदा उनले पश्चिमी विलासी ब्रान्डभन्दा चिनियाँ स्थानीय ब्रान्ड र आधुनिक चिनियाँ शैलीका पहिरन रोज्दै आएकी छन्। सेप्टेम्बर २३ मा अमेरिका पुगेका बेला पेङले चिनियाँ शैली झल्कने खैरो पोशाक लगाएकी थिइन्। कम्मरमा मिलाइएको उक्त पोशाकमा चिनियाँ कलर र लामो स्कर्टसँग किपाओ शैलीको सानो चिरा थियो। उनले त्यससँग फिक्का गुलाबी स्कार्फ लगाएकी थिइन्।

अमेरिकामा उनले प्रथम महिला मेलानिया ट्रम्पसँग अनुवादकबिना अंग्रेजीमा कुराकानी गरेकी थिइन्। वासिंगटनस्थित स्मिथसोनियन राष्ट्रिय एसियाली कला संग्रहालयमा युवा गायन समूहले चिनियाँ लोकगीत ‘जैस्मिन फ्लावर’ प्रस्तुत गर्दा पेङले पनि गीतमा साथ दिएकी थिइन्। प्रस्तुति सकिएपछि बालबालिकाले उनलाई ‘धन्यवाद, आमा पेङ!’ भनेका थिए।

त्यसयता पेङ सामाजिक सञ्जालमा चर्चाको विषय बनेकी छन्। एक्सलगायतका प्लेटफर्ममा उनका पुराना भिडियोहरू साझा भइरहेका छन्। उनले अंग्रेजीमा गरेको सम्बोधनको एउटा पुरानो भिडियो पनि अहिले भाइरल भइरहेको छ।

चीनका वासिंगटनस्थित राजदूत झी फेङले पेङले अमेरिकी युवालाई चिनियाँ भाषा र संस्कृति अध्ययन गर्न तथा चीन-अमेरिका मित्रताको दूत बन्न प्रोत्साहित गरेको बताएका छन्। भूराजनीतिक विश्लेषक जो मजुरले पेङले अमेरिका-चीन सम्बन्धमा हुने कूटनीतिलाई बढी मानवीय रूपमा प्रस्तुत गर्न सहयोग गरेको बताउँछन्।

तर, चीनमा भने पेङको अमेरिका भ्रमण, पहिरन तथा गतिविधिबारे सामाजिक सञ्जालमा चर्चा निकै सीमित रहेको छ। उनी चीनमा सार्वजनिक रूपमा कमै देखिने गरेकी छन्।

पेङ चीनमा सेनाकी सोप्रानो गायिकाका रूपमा पहिलेदेखि परिचित थिइन्। सी सत्तामा आएपछि सन् २००० को दशकको सुरुवाततिर चिनियाँ सञ्चारमाध्यमले उनका गतिविधिबारे बढी समाचार दिन थालेका थिए। अंग्रेजीमा पनि कुराकानी गर्ने पेङले एचआईभी/एड्सबाट प्रभावित मानिससहित विभिन्न सामाजिक विषयमा काम गर्दै आएकी छन्।

पेङ सी जिनपिङकी दोस्रो पत्नी हुन्। सीले यसअघि एक कूटनीतिज्ञकी छोरीसँग विवाह गरेका थिए, तर पछि उनीहरूको सम्बन्धविच्छेद भएको थियो। पेङ र सीका एक छोरी छन्। एजेन्सी

प्रकाशित: ९ आश्विन २०८३ २२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App