२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानलाई हतियार दिएको अमेरिकी आरोप चीनद्वारा अस्वीकार

इरानलाई सैन्य हतियार आपूर्ति गरेको भन्ने अमेरिकी आरोपलाई चीनले अस्वीकार गरेको छ।

बेइजिङले यस्ता आरोपलाई आधारहीन र दुर्भावनापूर्ण भनेको छ। हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई सैन्य सहायता उपलब्ध गराएमा चिनियाँ सामानमाथि ५० प्रतिशतसम्मको नयाँ ट्यारिफ (कर) लगाउने चेतावनी दिएका थिए।

अमेरिकी सञ्चारमाध्यमहरूले चीनले निकट भविष्यमै इरानलाई उन्नत हवाई रक्षा प्रणाली र काँधमा बोकेर प्रहार गर्न सकिने मिसाइलहरू उपलब्ध गराउन लागेको दाबी गरेपछि ट्रम्पको यस्तो भनाइ बाहिरिएको हो ।

सिएनएन र द न्युयोर्क टाइम्सलगायतका मिडियाले अमेरिकी गुप्तचर स्रोतलाई उद्धृत गर्दै चीनले इरानतर्फ रक्षा प्रणाली पठाउन सक्ने सङ्केत गरेका थिए।

यिनै दाबीहरूको खण्डन गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार नियमित पत्रकार सम्मेलनमा भने, ‘हामी आधारहीन धब्बा र दुर्भावनापूर्ण आरोपहरूको विरोध गर्छौँ। चीनले सैन्य सामग्रीको निर्यातमा सधैँ कडा नियन्त्रण र जिम्मेवारीपूर्ण नीति अपनाउँदै आएको छ।’

प्रवक्ता जियाकुनले चीन आफ्नो निर्यात नियन्त्रण कानुन र अन्तर्राष्ट्रिय दायित्वप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको र कुनै पनि गैरजिम्मेवार सैन्य हस्तक्षेपमा संलग्न नभएको प्रस्ट पारे।

प्रकाशित: ३० चैत्र २०८२ १७:१६ सोमबार