३० श्रावण २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानको बढ्दो सैन्य सक्रियतालाई ‘खतरा’ भन्दै चीनले दियो कडा चेतावनी

फाइल तस्बिर

चीनले जापानको बढ्दो सैन्य गतिविधिलाई लिएर कडा चेतावनी दिएको छ। चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता चेन सीले जापानले आफ्नो सैन्य विस्तार गरिरहेको र यसले क्षेत्रीय सुरक्षामा ठुलो खतरा निम्त्याउने बताएका हुन्।

जापानको रक्षा मन्त्रालयले आर्थिक वर्ष २०२७ का लागि झन्डै ५६ अर्ब डलरको बजेट प्रस्ताव गर्ने तयारी गरिरहेको बेला उनले यस्तो चेतावनी दिएका हुन्। यो रकम अहिलेसम्मकै उच्च हो। यही विषयलाई लिएर चेनले आफ्नो प्रतिक्रिया दिएको चिनियाँ सञ्चार माध्यमले जानकारी दिएका छन्।

शनिबार दोस्रो विश्वयुद्धमा जापानले बिनासर्त आत्मसमर्पण गरेको ८१ वर्ष पूरा भएको छ। यो अवसरमा चेनले विगतको स्मरण गर्दै शुक्रबार भने, ‘८१ वर्ष पहिले जापानले चीन र विश्वका अन्य देशबाट कडा प्रहार खेपेपछि बिनासर्त आत्मसमर्पण गरेको थियो।’

त्यतिबेला जापानी सैन्यवादले पूरै एसियालाई युद्ध र विनाशको खाडलमा धकेलेको उनले याद गराए। नान्जिङ नरसंहारदेखि थाइल्यान्ड र म्यानमारबीचको मृत्यु रेलमार्ग निर्माणसम्मका घटनाले एसियाली जनतालाई ठुलो पीडा दिएको उनको भनाइ थियो।

चेनका अनुसार युद्धमा पराजित भएपछि पनि जापानले इतिहासबाट पाठ सिक्न सकेको छैन। उनले भने, ‘जापानले लामो समयदेखि युद्धकालीन आक्रमणलाई ढाकछोप गर्ने वा अस्वीकार गर्ने दक्षिणपन्थी शक्तिहरूलाई संरक्षण दिँदै आएको छ। साथै, शान्तिवादी संविधान र रक्षा-उन्मुख नीतिबाट बाहिर निस्कन खोजिरहेको छ।’

हालैका दिनमा जापानले ‘बाह्य खतरा’ को बहाना बनाएर रक्षा बजेट ह्वात्तै बढाएको, आक्रामक सैन्य क्षमता विकास गरेको र रक्षा उद्योगको विस्तार गरिरहेको चेनले आरोप लगाए। उनले थपे, ‘जापानको नयाँ सैन्यवादले उसको वास्तविक महत्वाकांक्षालाई बाहिर ल्याएको छ, यसलाई बेवास्ता गर्न मिल्दैन।’

ऐतिहासिक सत्यलाई भुल्न नहुने बताउँदै उनले जापानलाई आफ्ना पुराना युद्ध अपराधका लागि प्रायश्चित्त गर्न र खतरनाक सैन्य बाटो नहिँड्न आग्रह गरे। चेनले कडा चेतावनी दिँदै भने, ‘यदि जापान फेरि गलत बाटोमा हिँड्यो भने उसले थप पीडादायी हार बेहोर्नुपर्नेछ र गम्भीर परिणामको सामना गर्नुपर्नेछ।’ एजेन्सी

प्रकाशित: ३० श्रावण २०८३ १३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App