फ्लाई दुबईको दुबई-तेल अभिभ उडानमा को-पाइलटको आक्रमणमा घाइते भएका पाइलट क्याप्टेन स्मित माच्छारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भिडियो कलमा कुरा गरेका छन्।
बुधबार भएको घटनामा को-पाइलटले क्याप्टेन स्मितमाथि आक्रमण गरेपछि विमान तीव्र गतिमा तल झरेको थियो। गम्भीर रूपमा घाइते भए पनि स्मितले ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि चालक दलका सदस्य र यात्रुहरू ककपिटमा पुगेका थिए।
विमानमा रहेका अन्य दुई पाइलटले नियन्त्रण लिएपछि विमानलाई साउदी अरबको ताबुक विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो। विमानमा १७४ यात्रु थिए। पछि सबैलाई अर्को विमानमार्फत इजरायल पुर्याइएको थियो।
शुक्रबार मोदीसँग भएको कुराकानीका क्रममा स्मित भावुक भए। उनले त्यसबेला आफ्नो मनमा कसैलाई केही हुन दिनु हुँदैन भन्ने कुरा मात्र रहेको बताए। स्मितले आफूलाई निकै चोट लागेको भए पनि उठेर केही गर्नुपर्छ भन्ने लागेको भनेका छन्।
आफू १७ वर्षदेखि उडान गरिरहेको र पछिल्लो ११ वर्षदेखि क्याप्टेन रहेको बताउँदै उनले विमानमा के भइरहेको थियो भन्ने आफूले बुझिरहेको उनको भनाइ थियो। त्यसपछि उठेर ककपिटको ढोका खोल्ने प्रयास गरेको र ढोका खुलेपछि अरू मानिस पनि भित्र आएको उनले स्मरण गरे।
घटनापछि यात्रु र चालक दलका सदस्यहरूले को-पाइलटलाई नियन्त्रणमा लिन सफल भएका थिए। विमानमा रहेका थप दुई पाइलटले नियन्त्रण लिएर विमानलाई सुरक्षित रूपमा ताबुकमा अवतरण गराएका थिए। क्याप्टेन स्मितलाई उपचारका लागि अबुधाबी लगिएको छ।
कुराकानीमा स्मितले प्रधानमन्त्री मोदीलाई आफ्नो सबैभन्दा ठुलो आदर्श भएको बताए। मोदीले फोन गरेर हौसला बढाएकोमा आफूलाई निकै गर्व लागेको उनको भनाइ थियो। करिब नौ मिनेटको कुराकानीमा स्मितले आफूले प्रधानमन्त्रीसँग कुरा गर्ने अवसर पाउँछु भनेर कहिल्यै नसोचेको पनि बताए।
सो अवसरमा मोदीले कठिन समयमा स्मितले देखाएको साहस, सुझबुझ र संयमको प्रशंसा गरेका थिए।
प्रकाशित: १६ आश्विन २०८३ १५:३९ शुक्रबार


-600x400.jpg)


