अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा द्विपक्षीय वार्ता भएको छ।
विश्व व्यापार, आणविक हतियार नियन्त्रण र अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीबीच भएको यस भेटलाई दुई शक्ति राष्ट्रबीचको सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि द्विपक्षीय भेट गरेका थिए। उनले पुटिनसँगको भेटबाट सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्दै त्यसपछि अर्को बैठकसमेत हुन सक्ने बताएका थिए।
ट्रम्पले सी र पुटिनसँग तीनै देशको साझा हित तथा अन्तर्राष्ट्रिय अवसरबारे छलफल गर्न प्रस्तावित त्रिपक्षीय बैठकको प्रतीक्षा गरिरहेको बताए। उनले यसलाई ऐतिहासिक अवसरको संज्ञासमेत दिएका थिए।
तीन नेताबीच आणविक हतियार नियन्त्रण, इरानसँग जारी द्वन्द्व, विश्व व्यापार तथा रुस–युक्रेन युद्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यसअघि सी र पुटिनबीच पनि सेन्जेनमा द्विपक्षीय वार्ता भएको थियो। भेटमा दुवै नेताले चीन–रुस सम्बन्धको सुदृढीकरण र बहुध्रुवीय विश्व व्यवस्थालाई अघि बढाउने प्रतिबद्धता दोहोर्याएका थिए।
सीले दुई देशबीचको सम्बन्धलाई प्रतिकूल परिस्थितिमा पनि पहाडझैँ अडिग रहेको बताएका थिए भने पुटिनले चुनौतीपूर्ण अन्तर्राष्ट्रिय परिस्थितिका बाबजुद आपसी राजनीतिक सहकार्य रचनात्मक रहेको उल्लेख गरेका थिए।
प्रस्तावित त्रिपक्षीय छलफल अमेरिका र रुसबीचको नयाँ स्टार्ट आणविक हतियार नियन्त्रण सन्धि समाप्त भएपछि अन्तर्राष्ट्रिय हतियार नियन्त्रणको विषयले पुनः महत्त्व पाएका बेला हुन लागेको हो।
अमेरिकाले चीनलाई पनि व्यापक आणविक हतियार कटौतीसम्बन्धी वार्तामा सहभागी गराउन खोजिरहेको छ। तर चीनले अमेरिका र रुससँग तुलनात्मक रूपमा निकै ठूलो आणविक हतियार भण्डार रहेको भन्दै प्रत्यक्ष वार्तामा सहभागी हुन अनिच्छा देखाउँदै आएको छ। एएनआई
प्रकाशित: ३ मंसिर २०८३ १२:१९ बिहीबार





