११ मंसिर २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

खल्तीमा २४ रुपैयाँ बोकेर घरबाट निस्किएका मजदुरका छोरा भूषण ठाकरे बने करोडपति

भारत महाराष्ट्रको जलगाउँका २८ वर्षीय भूषण ठाकरेले भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ (केबीसी) मा एक करोड रुपैयाँ जितेका छन्।

संघ लोक सेवा आयोग (यूपीएससी) को तयारी गरिरहेका भूषणका बुबा मजदुरी गर्छन् भने आमा लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेकी छन्। भूषणले सन् २०१६ मा पहिलोपटक केबीसीका लागि दर्ता गरेका थिए। करिब १० वर्षपछि उनको त्यो सपना पूरा भएको छ।

महाराष्ट्रको जलगाउँ जिल्लास्थित बालवाडी गाउँका भूषण ठाकरेका लागि ‘कौन बनेगा करोडपति’ को मञ्चमा एक करोड रुपैयाँ जित्नु एउटा खेल कार्यक्रममा प्राप्त सफलता मात्र होइन। यो उनको परिवारले वर्षौंदेखि गरेको संघर्ष, उनको आफ्नै मेहनत र एक दशकदेखि देख्दै आएको सपनाको साकार रूप हो।

भूषणले सात करोड रुपैयाँको प्रश्नको जवाफ दिनुभन्दा एक करोड रुपैयाँ लिएर खेल छाड्ने निर्णय गरे। पछि सात करोड रुपैयाँको प्रश्नबारे आफूले गरेको अनुमान सही रहेको थाहा पाए पनि उनलाई आफ्नो निर्णयप्रति कुनै पछुतो छैन।

बीबीसी हिन्दी न्यूजसँगको कुराकानीमा भूषणले भनेका छन्, ‘केबीसीले मलाई एक करोड रुपैयाँ जित्ने जुन अवसर दियो, त्यो रकम पनि मेरा लागि पर्याप्त छ। यसबाट म आफ्नो पूरै जीवनमा परिवर्तन ल्याउन सक्छु।’

छोराको पढाइका लागि आमाले बेचिरहिन् गहना

भूषणको परिवारमा चार जना छन्– उनका आमाबुबा, उनी स्वयं र उनका भाइ कुलदीप। परिवारमा बुबा मात्रै कमाउने व्यक्ति थिए। उनीहरूको परिवार भूमिहीन मजदुरका रूपमा काम गर्दै आएको थियो। भूषणले कक्षा १२ सम्मको पढाइ गाउँकै सरकारी विद्यालयबाट पूरा गरे। त्यसपछि जलगाउँस्थित सरकारी संस्थाबाट थप अध्ययन गरे।

उनले इतिहास विषयमा स्नातकोत्तर गरेका छन्। हाल राजनीतिशास्त्रमा स्नातकोत्तर तहको अध्ययनसँगै यूपीएससी परीक्षाको तयारी गरिरहेका छन्। उनका बुबाले जीवनभर मजदुरी गरेर परिवारको पालनपोषण गरेका छन्।

भूषणका अनुसार उनका बुबाले पाँच वर्षको उमेरदेखि नै काम गर्न थालेका थिए। उनकी आमा पनि औपचारिक शिक्षाबाट वञ्चित छिन्। उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेकी छन्। उनको करिब आठदेखि नौ पटक शल्यक्रिया भइसकेको छ।

घरखर्च चलाउनुका साथै आमाको उपचार र छोराहरूको पढाइको जिम्मेवारी पनि बुबाकै काँधमा थियो। भूषणका अनुसार सन् २०१६–१७ मा पढाइका लागि घर छाडेर बाहिर निस्कँदा परिवारको आर्थिक अवस्था उनको पढाइ खर्च सहजै धान्न सक्ने खालको थिएन।

उनकी आमाले घरखर्चबाट थोरै–थोरै पैसा बचाएर सुन किन्ने गर्थिन्। ‘कहिले एक ग्राम, कहिले दुई ग्राम त कहिले तीन ग्राम। तर जब भूषणलाई पढाइका लागि पैसाको आवश्यकता पर्थ्यो, आमाले आफ्ना गहना बेचिदिनुहुन्थ्यो,’ उनले भने।

एक करोड रुपैयाँ जितेपछि भूषणको पहिलो प्राथमिकतामध्ये आमाका लागि गहना किनिदिनु पनि हो। उनी भन्छन्, ‘अब त्यसको प्रतिफल फर्काउने समय आएको छ। त्यो पनि ब्याजसहित। त्यसैले सबैभन्दा पहिले आमाका लागि गहना किनिदिनेछु।’

खल्तीमा २४ रुपैयाँ लिएर पुगेका थिए मुम्बई

भूषणका लागि केबीसीको मञ्चसम्म पुग्ने यात्रा पनि सहज थिएन। कार्यक्रमको टोलीले फोन गरेर मुम्बई आउन र छनोट भएको जानकारी दिँदा उनको खल्तीमा जम्मा २४ रुपैयाँ मात्रै थियो।

यद्यपि, केबीसीको टोलीले प्रतियोगीको आउजाउ र बसाइको खर्च बेहोर्ने भएकाले उनलाई मुम्बई पुग्ने चिन्ता थिएन। उनी भन्छन्, ‘म मुम्बई जाँदा मेरो खल्तीमा २४ रुपैयाँ थियो। तर मुम्बईबाट फर्किंदा मेरो खल्तीमा एक करोड २४ लाख रुपैयाँ थियो।’

भूषणका लागि यो केवल पैसाको अन्तर थिएन, बरु उनको जीवनमा आएको ठूलो परिवर्तनको प्रतीक थियो। केबीसीको मञ्चमा अमिताभ बच्चनका अगाडि बस्नु पनि उनका लागि सपना पूरा भएजस्तै थियो।

भूषण महाराष्ट्रको एउटा सानो गाउँबाट आएका हुन्। उक्त गाउँको जनसंख्या करिब दुई हजार छ। उनले ठूला सहरमा धेरै समय बिताएका छैनन्। उनी आफूलाई केही अन्तर्मुखी स्वभावको व्यक्ति पनि बताउँछन्।

त्यसैले जब उनका अगाडि अमिताभ बच्चन आए, उनी आत्तिएका थिए। उनी भन्छन्, ‘स्वाभाविक रूपमा त्यतिबेला मलाई डर लागिरहेको थियो। मेरो मुटुको धड्कन बढेको थियो, खुट्टा केही काँपिरहेका थिए र पसिना आइरहेको थियो।’

यद्यपि, उनका अनुसार अमिताभ बच्चनले कार्यक्रमको सुरुवातमा पाँच–छ मिनेट प्रतियोगीसँग कुराकानी गर्छन्। यसले उनीहरूलाई सहज महसुस गराउन र खेलमा ध्यान केन्द्रित गर्न मद्दत गर्छ।

यूपीएससीको तयारीका लागि आफैँसँग गरेका थिए वाचा

भूषण अहिले यूपीएससी परीक्षाको तयारी गरिरहेका छन्। त्यसका लागि उनी परिवारबाट टाढा भुसावलस्थित छात्रावासमा बस्दै आएका छन्। उनले केही उपलब्धि हासिल नगरेसम्म घर नफर्किने वाचा आफैँसँग गरेका थिए।

भूषणका अनुसार एक समय उनलाई आफ्नो पढाइ निरन्तर अघि बढ्न नसकेको र परिवारमाथि निर्भरता बढ्दै गएको महसुस हुन थालेको थियो। उनी भन्छन्, ‘जवान छोरा भएर पनि म केही गर्न सकिरहेको थिइनँ। पढाइ पनि निरन्तर भइरहेको थिएन। बीचबीचमा अवरोध आइरहेका थिए। कतै न कतै म परिवारका लागि बोझ बन्दै गएको महसुस हुन थालेको थियो।’

त्यही कारण उनले घरबाट बाहिर बसेर आफ्नै खुट्टामा उभिने निर्णय गरेका थिए। त्यस क्रममा आमाको स्वास्थ्य निकै बिग्रिएका बेला पनि उनले उपचारमा सहयोग गर्न सकेनन्। यस्तो अवस्थामा उनलाई सामाजिक दबाबसमेत महसुस हुने गरेको थियो।

एक करोड रुपैयाँ जितेपछि अब उनी आफ्ना आमाबुबाको जीवनमा परिवर्तन ल्याउन चाहन्छन्। उनका बुबा अहिले ५५ वर्षका छन्। भूषणका अनुसार उनका बुबाले बाल्यकालदेखि नै मजदुरी गर्दै आएका छन्। उनी भन्छन्, ‘अबदेखि म उहाँहरूलाई मजदुरी गर्न दिनेछैनँ। बुबा पनि विद्यालय जानुभएको थिएन र आमा पनि पढेलेखेको हुनुहुन्न। उहाँहरू दुवैले निकै सानै उमेरदेखि काम गर्न थाल्नुभएको थियो।’

भूषणको योजना कुनै राम्रो सहरमा गएर स्तरीय कोचिङ संस्थाबाट यूपीएससीको तयारी गर्ने छ।

सन् २०१६ देखि देख्दै आएका थिए केबीसीमा पुग्ने सपना

भूषणका लागि केबीसीमा पुग्नु अचानक लिएको निर्णय थिएन। उनी बाल्यकालदेखि नै यो कार्यक्रम हेर्दै आएका थिए। 

उनको घरमा टेलिभिजन थियो र आमाबुबाले पनि केबीसी हेर्ने गर्थे। उनका आमाबुबा पढेलेखेका थिएनन्, तर भूषण पढाइमा औसत विद्यार्थी थिए। कार्यक्रममा सोधिने धेरै प्रश्नको जवाफ उनी दिन्थे। यसबाट उनका आमाबुबा खुसी हुन्थे। उनीहरूलाई एक दिन आफ्नो छोरा पनि अमिताभ बच्चनको अगाडि बस्नेछ भन्ने लाग्थ्यो।

सन् २०१६ मा १८ वर्ष पुगेपछि भूषणले पहिलोपटक केबीसीका लागि दर्ता गराए। सन् २०१६ देखि २०२० सम्म उनले हरेक वर्ष आवेदन दिए। तर अडिसनका लागि कुनै फोन आएन।

सन् २०२१ देखि भने उनलाई हरेक वर्ष अडिसनका लागि बोलाउन थालियो। धेरैपटक व्यक्तिगत अन्तर्वार्तासमेत भयो। तर छनोट हुन सकेनन्। अन्ततः सन् २०२६ मा उनको छनोट भयो र उनी केबीसीको मञ्चसम्म पुग्न सफल भए।

भूषणका अनुसार कार्यक्रममा पुग्न कुनै चिनजान वा सिफारिस आवश्यक पर्दैन। आम मानिस पनि आफ्नो ज्ञान र प्रतिभाका आधारमा यो मञ्चसम्म पुग्न सक्छन्। उनका लागि एक करोड रुपैयाँको रकम आफू र आफ्नो परिवारको भविष्य बदल्न पर्याप्त छ।

भूषणको यो जितको अर्को भावनात्मक पक्ष पनि छ। उनी छिट्टै आफ्नो गाउँ फर्किंदै छन्। गाउँमा उनको स्वागतको तयारीसमेत गरिएको छ। बीबीसी

प्रकाशित: ११ मंसिर २०८३ ०८:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App