फिलिपिन्सकी उपराष्ट्रपति सारा डुटेर्टेविरुद्ध राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरसहित तीन जनाको हत्या गर्ने धम्की दिएको आरोपमा पक्राउ पुर्जी जारी भएको छ।
क्वेजोन सिटीस्थित क्षेत्रीय ट्रायल कोर्टको शाखा ९८ का न्यायाधीश मारिया एन्जेलिका पी. डे रामोसको इजलासले शुक्रबार तीन वटा गम्भीर धम्कीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो। यो मुद्दा साइबरक्राइम प्रिभेन्सन एक्टसँग पनि सम्बन्धित छ। डुटेर्टेका वकिलले पक्राउ प्रक्रिया रोक्न वा पुर्जी फिर्ता लिन गरेको प्रयास अदालतले अस्वीकार गरेपछि यस्तो आदेश आएको हो। उनीमाथि मार्कोस, उनकी श्रीमती लिजा अरानेटा-मार्कोस र पूर्वसभामुख मार्टिन रोमुआल्डेजलाई मार्न हिटम्यान प्रयोग गर्ने धम्की दिएको आरोप छ।
यो घटना नोभेम्बर २३, २०२४ को हो। त्यतिबेला डुटेर्टेले आफूलाई केही भएमा उनीहरूलाई मार्न मानिस तयार पारेको बताएकी थिइन्। पछि उनले राष्ट्रपतिसँगको विवादका कारण आफ्नो सुरक्षाबारे डर व्यक्त गरेको दाबी गरेकी थिइन्। अदालतले तीन वटै आरोपमा प्रत्येकका लागि एक लाख २० हजार फिलिपिन्स पेसो जमानत तोकेको छ। अधिकारीहरूले जमानतपछि डुटेर्टे तत्काल रिहा हुने अपेक्षा गरेका छन्। उनका वकिल पल लरेन्स लिमले डुटेर्टेको कानुन छल्ने कुनै मनसाय नरहेको र उपलब्ध सबै कानुनी उपाय प्रयोग गरिरहने बताएका छन्।
फिलिपिन्सको न्याय विभागले भने अदालतको निर्णयको सम्मान गर्ने बताएको छ। विभागका प्रवक्ताले डुटेर्टेविरुद्धको यही घटनासँग सम्बन्धित विषय महाभियोगमा पनि उठाइएको भए पनि त्यसले आपराधिक मुद्दा चलाउन रोक नलगाउने बताएका छन्। डुटेर्टेमाथि सिनेटमा महाभियोगको सुनुवाइ पनि चलिरहेको छ। उनीमाथि भ्रष्टाचार, सम्पत्तिको स्रोत स्पष्ट गर्न नसकेको तथा उपराष्ट्रपति र शिक्षा सचिव हुँदा गोप्य कोषको दुरुपयोग गरेको आरोप लागेको छ। डुटेर्टेले भने आफूले कुनै गलत काम नगरेको बताउँदै आएकी छन्।
यसैबिच, संसदको अभियोजन टोलीले डुटेर्टेका दुई पूर्व सुरक्षा अधिकारी र कथित पूर्व सहयोगी रामिल माद्रिगालाई महाभियोग मुद्दामा थप साक्षीका रूपमा नबोलाउने भएको छ। अभियोजन पक्षले यसअघि प्रस्तुत गरिएका प्रमाणले ६१ करोड २५ लाख फिलिपिन्स पेसोको गोप्य कोषमा भएको भनिएको अनियमितता पुष्टि गर्न पर्याप्त रहेको बताएको हो।
डुटेर्टे सन् २०२२ को निर्वाचनमा मार्कोससँगै चुनावी गठबन्धनमा थिइन्। तर सत्तामा पुगेपछि दुवैबिचको सम्बन्ध बिग्रिएर राजनीतिक संघर्षमा परिणत भयो। डुटेर्टेका बुबा तथा पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टे भने लागूऔषधविरोधी अभियानसँग सम्बन्धित मुद्दामा हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतको हिरासतमा छन्। एजेन्सीको सहयोगमा
प्रकाशित: २० भाद्र २०८३ ०८:३८ शनिबार





