भेनेजुएलामा आएको शक्तिशाली भूकम्पले हजारौं परिवारलाई शोकमा डुबाएको छ। जसमा भेनेजुएलाको दोस्रो डिभिजन टोलीका एक अर्जेन्टिनाका फुटबल खेलाडीले आफ्नी श्रीमती र दुई छोराछोरी गुमाएका छन्।
क्लब स्पोर्ट मारिटिमो ला गुएराबाट खेल्दै आएका लुकास ट्रेजोले आफ्नी श्रीमती यानिना र दुई सन्तान आरोन तथा ऐनहोआलाई गुमाएका हुन्।
भूकम्प आएको बेला ३८ वर्षीय ट्रेजो काराकासमा टोलीको प्रशिक्षण शिविरमा थिए। घटना थाहा पाएलगत्तै उनी राजधानीबाट करिब ३० किलोमिटर उत्तरमा रहेको ला गुएरास्थित घर पुगे। भूकम्पले उनको घर पूर्ण रूपमा ध्वस्त भएको थियो।
ट्रेजोले लगातार तीन दिनसम्म भग्नावशेषमा आफ्नी श्रीमती र दुई सन्तानको खोजी गरे। परिवारको खोजीका क्रममा ट्रेजोले मेसिनरी उपकरणको माग गरेका थिए। तर, उपकरण उपलब्ध नभएपछि त्यसको प्रयोग भएन।
सोमबार क्लब स्पोर्ट मारिटिमो ला गुएराले सामाजिक सञ्जालमार्फत ट्रेजोको परिवारप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गहिरो समवेदना व्यक्त गरे।
क्लबले ट्रेजो, उनकी श्रीमती र दुई सन्तानको पारिवारिक तस्बिर सार्वजनिक गर्दै ‘लुकास, तिमी एक्लो छैनौ। मारिटिमो ला गुएराको सम्पूर्ण परिवार तिम्रो साथमा छ,’ लेखेका थियोे।
३९ सेकेन्डको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले देशभर ठूलो जनधनको क्षति पुर्याएको छ। अधिकारीहरूका अनुसार हालसम्म १,४०० भन्दा बढीको मृत्यु भइसकेको छ भने हजारौं अझै बेपत्ता छन्।
यस्तै, भेनेजुएला फुटबल संघका अनुसार यू–१७ विश्वकप खेलेका १८ वर्षीय युवा खेलाडी यिमवर्ट बेरोटेरनको पनि ज्यान गएको छ। साथै युवा खेलाडी भिक्टर पलासियोस र रजान सिजाको पनि भूकम्पमा मृत्यु भएको पुष्टि भएको छ।
प्रकाशित: १६ असार २०८३ १२:११ मंगलबार

