५ कार्तिक २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साउदी अरबको अर्को विमानस्थलमा पनि हमला : एक जनाको मृत्यु, आठ घाइते

साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार साँझ हमला भएको छ।

साउदी अरबको नागरिक उड्डयन प्राधिकरणका अनुसार घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्।

यसअघि बुधबार बिहान साउदी अरबको ऊर्जा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (यूएई) को सीमासँग जोडिएको क्षेत्रमा रहेको शेबाह तेल क्षेत्रमा आक्रमण गर्ने प्रयासमा रहेको एउटा ड्रोनलाई देशको हवाई रक्षा प्रणालीले रोकेको जनाएको थियो।

उक्त घटनामा फिलिपिन्स र नेपालका एक–एक नागरिकको मृत्यु भएको थियो।

साउदी अरबमा भएका यी हमलाका पछाडि कसको हात छ भन्ने अझै स्पष्ट हुन सकेको छैन। यमनमा हुथी विद्रोहीसँगको संघर्ष जारी रहेका बेला यी घटनाहरू भएका हुन्।

यसैबीच, अमेरिकी विदेश मन्त्रालयले साउदी अरबमा कार्यरत सबै गैरआवश्यक कूटनीतिक कर्मचारीलाई त्यहाँबाट फर्कन आदेश दिएको छ।

रियादस्थित अमेरिकी दूतावासले पनि साउदी अरबका विभिन्न स्थानमा हुथी विद्रोहीबाट थप हमला हुन सक्ने आशंका व्यक्त गरेको छ।

प्रकाशित: ५ कार्तिक २०८३ १०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App