२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्यारिफबाट अमेरिकाको ‘बम्पर’ कमाइ : हरेक नागरिकलाई तीन लाख लाभांश दिने ट्रम्पको घोषणा

फाइल तस्बिर

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले करबाट अर्बौं डलर राजस्व संकलन भएको दाबी गरेका छन्। अर्बौं डलर कमाइ भएको भन्दै ट्रम्पले हरेक अमेरिकी नागरिकलाई झण्डै तीन लाख रुपैयाँ लाभांश दिने घोषणा समेत गरेका छन्। 

सामाजिक सञ्जालमा ट्रुथ सोशलमा उनले यो राजस्वले धनीबाहेक प्रत्येक अमेरिकी नागरिकलाई कम्तीमा दुई हजार डलर (दुई लाख ८३ हजार रुपैयाँ) को ‘लाभांश’ दिने बताएका हुन्। 

ट्रम्पले कर आलोचकहरूलाई ‘मूर्ख’ भनेका छन्। 

‘ट्यारिफको विरुद्धमा बोल्नेहरू मूर्ख हुन्। हाम्रो सरकारले अमेरिकालाई विश्वको सबैभन्दा धनी र सम्मानित देश बनाएको छ, जहाँ लगभग कुनै मुद्रास्फीति छैन र रेकर्ड–उच्च स्टक बजार छ,’ उनले लेखेका छन्। यसले राष्ट्रिय ऋण तिर्न र अर्थतन्त्र बलियो बनाउन सहयोग गर्ने उनको भनाइ छ।

अक्टोबरमा उनले एक हजारदेखि दुई हजार डलर छुटको संकेत गरेका थिए। यसबारे योग्यता मापदण्ड वा समयसीमा भने स्पष्ट पारिएको छैन। अमेरिकाको अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२५ मा करबाट २१५ अर्ब डलर राजस्व संकलन भएको छ।

यसबाहेक ट्रम्पले व्यापारमा राष्ट्रपतिको शक्तिमाथि प्रश्न उठाए। ‘अन्य देशहरूले हामीमाथि कर लगाउन सक्छन्, तर हामी उनीहरूमाथि कर लगाउन सक्दैनौँ। कर नै व्यवसाय अमेरिकामा आउनुको एक मात्र कारण हो। करबिना हामीसँग केही छैन। के सर्वोच्च अदालतले यो बुझ्दैन?’ उनले थप भनेका छन्। 

उनले अप्रिल २०२५ मा घोषित १० देखि ५० प्रतिशत करले अर्थतन्त्र बलियो बनाएको दाबी गरे। ह्वाइट हाउसले अन्तर्राष्ट्रिय आपत्कालीन आर्थिक शक्ति ऐनअन्तर्गत राष्ट्रपतिसँग यस्तो शक्ति रहेको तर्क गरेको छ। 

महान्यायाधिवक्ता जोन सावयरले नीति खारेजले आर्थिक र राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याउने चेतावनी दिएका छन्। सर्वोच्च अदालतमा यो विषयमाथि सुनुवाइ भइरहेको छ। एजेन्सी

प्रकाशित: २४ कार्तिक २०८२ १३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App