अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २७ मा हुने इजरायली संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई पुनः निर्वाचनका लागि पूर्ण समर्थन गरेका छन्।
ट्रम्पको समर्थन पाएपछि नेतान्याहूले दुवै देश मिलेर बाँकी काम पूरा गर्ने बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा नेतान्याहूलाई ‘बलियो, साहसी र प्रतिभाशाली नेता’ भन्दै उनको पुनः निर्वाचित हुने अभियानलाई समर्थन गरेका हुन्।
ट्रम्पले नेतान्याहूको नेतृत्वमा इरानविरुद्धको अभियान अघि बढेको दाबी गर्दै इजरायलमा अर्को नेता निर्वाचित भए अमेरिकाले इरानसम्बन्धी काम एक्लै गर्नुपर्ने बताएका छन्। ट्रम्पको समर्थनपछि नेतान्याहूले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘राष्ट्रपति ट्रम्प, तपाईंको ठुलो समर्थन र हामीले सँगै गरेको कामका लागि धन्यवाद। सँगै हामी मिसन पूरा गर्नेछौँ।’
नेतान्याहूले आफ्नो लिकुड पार्टीले सार्वजनिक गरेको भिडियोमा इजरायल र अमेरिकाले मिलेर इरानविरुद्ध महत्त्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेका छन्। उनले पुनः निर्वाचित भए आगामी दुई वर्षभित्र वा त्योभन्दा अगाडि नै इरानबाट उत्पन्न खतरा हटाउन ट्रम्पसँग मिलेर काम गर्ने बताएका छन्।
पछिल्लो समय इरान युद्ध र मध्यपूर्वको रणनीतिलाई लिएर दुवै नेताबिच मतभेद देखिएको थियो। ट्रम्पले यसअघि नेतान्याहूलाई समर्थन गर्नेबारे निर्णय नगरेको बताएका थिए। अहिलेको समर्थनले नेतान्याहूको चुनावी अभियानमा कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट भइसकेको छैन।
इजरायलको चुनावलाई नेतान्याहूको नेतृत्वमाथिको जनमत संग्रहका रूपमा हेरिएको छ। सर्वेक्षणहरूले कुनै पनि पक्षले संसद्मा स्पष्ट बहुमत प्राप्त गर्ने निश्चित नभएको देखाएका छन्। नेतान्याहूका विपक्षीहरूले भने इजरायलको नेतृत्व कसले गर्ने भन्ने निर्णय त्यहाँका मतदाताले नै गर्ने बताएका छन्।
प्रकाशित: २ कार्तिक २०८३ १४:३५ सोमबार





