coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नयाँ टिमसहित थप पाँच वर्ष चीनको नेतृत्व गर्दै सी

चिनियाँ कम्युनिस्ट पार्टीको हालै सम्पन्न २०औं राष्ट्रिय सम्मेलनले राष्ट्रपति एवं पार्टी महासचिव सी जिङपिङलाई तेस्रो कार्यकाल अर्थात् थप पाँच वर्षका लागि नेतृत्व सुम्पेको छ।  

सामान्यतः चीनमा दुई कार्यकाल पार्टी र सरकारको नेतृत्व गरेपछि नयाँ नेतृत्व चयन हुने गरेकोमा सी तेस्रो कार्यकालका लागि पनि चयन भएका हुन्। चीनमा शक्तिशाली नेताका रूपमा उदाएका सीले नयाँ नेतृत्वसहित तेस्रो कार्यकाल चीनको नेतृत्व गर्न लागेका हुन्। पार्टीले विगतको अभ्यास तोड्दै उनलाई शनिबार फेरि नेतृत्वमा चयन गरेको हो।

पार्टीको राष्ट्रिय सम्मेलनमा सहभागी दुई हजारभन्दा बढी प्रतिनिधिले सीलाई थप कार्यकालका लागि नेतृत्व दिने प्रक्रियामा समर्थन जनाए। चिनियाँ कम्युनिस्ट पार्टीको हरेक पाँच वर्षमा हुने साताव्यापी बैठकले पार्टीका शक्तिशाली पद महासचिव, २५ सदस्यीय पोलिटब्युरो र सात सदस्यीय स्थायी समिति चयन गर्छ। पार्टीको महासचिव स्वतः चीनको राष्ट्रपति हुने प्रावधान छ। चीनमा माओको मृत्युपछि सी सबैभन्दा शक्तिशाली पार्टी महासचिव भएको बताइएको छ।  

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय सम्मेलनले महासचिव सीको नेतृत्वमा आगामी पाँच वर्ष चीनमा शासन गर्ने सात शक्तिशाली व्यक्ति चयन गरेको छ। जसमा सी, ली क्विाङ, झाओ लेजी, वाङ हुनिङ, काई क्विई, डिङ सुई सियाङ र लिसी छन्। चीनमा स्थायी समितिलाई राष्ट्रपतिको मन्त्रिपरिषद्सरह मानिन्छ। जसमा सी र झाओ लेजीबाहेक सबै नयाँ छन्। उनीहरू सबै राष्ट्रपति सीप्रति बफादार मानिन्छन्।  

सीको नयाँ टिममा यसअघि पार्टीको दोस्रो तहका नेता एवं प्रधानमन्त्री लि खस्याङ भने परेनन्। उनलाई पार्टीबाट अवकाश दिइएको छ। पार्टीमा यसअघिकै जस्तो दोस्रो कार्यकालपछि राष्ट्रपति एवं पार्टी महासचिवले अवकाश लिएको खण्डमा चीनको भावी नेतृत्वमा ली खस्याङ आउने थिए। ली खस्याङ पार्टीमा पूर्वराष्ट्रपति हु जिन्ताओ निकट नेता मानिन्छन्। पार्टीको शक्तिशाली स्थायी समितिमा सबै आफू निकट चयन भएपछि अब सीले फरक विचारको सामना गर्नुपर्ने छैन।  

चीनमा आगामी कार्यकालका लागि प्रधानमन्त्रीको जिम्मेवारी लि क्विाङले सम्हाल्ने निश्चित भएको छ। हाल संघाइमा सचिवको जिम्मेवारीमा रहेका उनले पार्टीको महत्वपूर्ण दोस्रो पद अर्थात् प्रधानमन्त्रीको जिम्मा पाउने भएका छन्। ६३ वर्षका लि क्विाङ राष्ट्रपति सीको नजिकका विश्वास पात्र हुन। उनले कोरोना महामारिका बेला संघाईमा भएको लामो लकडाउनको नेतृत्व गरेका थिए।

पार्टीको तेस्रो महत्वपूर्ण पदमा ६५ वर्षीय झाओ लेजी चयन भएका छन्। केन्द्रीय अनुशासन आयोगको प्रमुख रहेका उनी चीनमा उदाउँदै गरेका नेताका रूपमा परिचित छन्। उनी राष्ट्रपति सीजस्तै साङसी प्रान्तसँग निकट सम्बन्ध भएका व्यक्ति हुन्। भ्रष्टाचार नियन्त्रण निकायमा प्रमुखका रूपमा उनले पार्टीमा अनुशासन बनाइराख्न भूमिका खेलेका छन्।  

पार्टीको नयाँ स्थायी समिति सदस्य बन्न सफल ६७ वर्षका वाङ हुनिङ पार्टी सचिवालयको प्रथम सचिव हुन्। पूर्वप्राध्यापक उनी वरिष्ठ राजनीतिज्ञहरूको नजरमा परेपछि महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्न सफल भएका हुन्।  

पार्टीको स्थायी समितिमा ल्याइएका अर्का काई क्विई बेइजिङका मेयर हुन्। कोरोना महामारीका बीच यसै वर्षको सुरुवातमा उनको नेतृत्वमा बेइजिङमा विन्टर ओलम्पिक्स सम्पन्न भएको थियो। यसअघिको पार्टीका मुख्य तीन सय ७० जना नेताभित्र पनि पर्न नसकेका उनी अहिले एकाएक पार्टीको पाँचौं शक्तिशाली व्यक्ति बनेका हुन्।

स्थायी समिति सदस्यमा ल्याइएका अर्का नेता डिङ सुई सियाङ महासचिव तथा राष्ट्रपति कार्यलयको निर्देशक हुन्। पेसाले इन्जिनियर उनले संघाईस्थित सरकार सम्बद्ध रिसर्च सेन्टरबाट राजनीति सुरु गरेका हुन्।  

पार्टीको सातौँ नम्बरमा रहेका स्थायी समिति सदस्य लिसी हाल गोउन्डङ प्रान्तको सचिव हुन्। उनी राष्ट्रपति सीप्रति बफादार मानिन्छन्। पार्टीको शक्तिशाली मानिने सात सदस्यीय स्थायी समिति र २५ सदस्यीय पोलिटब्युरोमा एकजना पनि महिला छैनन्।  

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय सम्मेलन समापन सत्रका क्रममा पूर्वराष्ट्रपति हु जिन्ताओलाई कार्यक्रम स्थलबाट बाहिर निकालिएको दृश्यले सबैको ध्यान खिचेको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमले ७९ वर्षीय हुको स्वास्थ्यमा समस्या आएका कारण उनलाई कार्यक्रम स्थलबाट बाहिर लगिएको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने हुले सी तेस्रो कार्यकालका लागि पुनः महासचिव चयन हुने कुराप्रति असहमति राखेका कारण उनलाई हलबाट निकालिएको दाबी गरेका छन्। यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

प्रकाशित: ७ कार्तिक २०७९ ०१:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App