१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

भ्रष्टाचार कसुरमा मलेसियाका पूर्वप्रधानमन्त्री जेलमा

मलेसियाको उच्च अदालतले करोडौं भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष जेल सजाय तोकेको छ। रजाकले वान–मलेसिया डेभलपमेन्ट वर्हाड नामक सरकारी कोषको करोडाैं रकम भ्रष्टाचार गरेको ठहर सन् २०२० मा तल्लो अदालतले गरे पनि उनले उच्च अदातलमा पुनरावेदन दिएका थिए। उच्च अदालतले मंगलबार उनको पुनरावेदन खारेज गर्दै १२ वर्ष जेल सजाय तोकेको हो।

चार वर्षअघिसम्म सत्तामा रहेका रजाकले आफूविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान रोक्न खोजेका थिए। अनुसन्धानकर्ताले वान–मलेसिया डेभलपमेन्ट वर्हाड कोषबाट साढे चार अर्ब अमेरिकी डलर अपचलन भएको र त्योमध्ये १ अर्ब रजाकसँग सम्बद्ध खातामा जम्मा भएको पत्ता लगाएका थिए।

कालो कोट र टाई लगाएका रजाक उच्च अदालतको निर्णय सुन्न आफैं उपस्थित भएका थिए। साथमा उनकी पत्नी र तीन छोराछोरी पनि अदालत पुगेका थिए। अदालतका एक अधिकारीले उनलाई क्वालालम्पुरबाट ४० किलोमिटर दुरीमा रहेको कजाङ जेल चलान गरिएको बताए। ‘यो निर्णय धेरै हिसाबले महत्वपूर्ण छ। रजाक मलेसियामा सत्तामा रहँदै चुनाव हार्ने पहिलो प्रधानमन्त्री बनेका छन्। भ्रष्टाचारको मुद्दामा दोषी प्रमाणित हुनेमा पनि उनी पहिलो प्रधानमन्त्री बनेका छन्,’ बाउरग्रुप एसियाका निर्देशक अडिब जाल्कप्लीले भने।  

सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री बनेका रजाक पछिल्लो आमचुनावमा पराजित भएका थिए।

६९ वर्षीय रजाकलाई भ्रष्टाचार मुद्दामा सन् २०२० मा तल्लो अदालतले दोषी ठह¥याएको थियो। उनले वान–मलेसिया डेभलपमेन्ट वर्हाडको शाखाका रूपमा रहेको एसआरिसी इन्टरनेसनलबाट १ करोड अमेरिकी डलर गैरकानुनी रूपमा लिएको ठहर तल्लो अदालतले गरेको थियो। तर, उपल्लो अदालतमा पुनरावेदन गरेसँगै उनी धरौटीमा छुटेका थिए।  

उच्च अदालतले रजाकलाई ४ करोड ६८ लाख अमेरिकी डलरबराबरको जरिवाना र १२ वर्ष जेल सजाय सुनाएको छ। रजाकले उच्च अदालतको निर्णय पुनः समीक्षा गर्न अपिल गर्नसक्ने भए पनि यस्तो अपिल सफल भएको उदाहरण छैन। उनले मलेसियाका राजासँग आममाफीका लागि याचना गर्ने सम्भावना पनि छ। उक्त याचना सफल भएमा उनी १२ वर्षे सजाय पूरा नगरी रिहा हुन सक्छन्।

मलेसियाका सर्वसाधारणले अदालतको निर्णयको स्वागत गरेका छन्। ‘उनले अन्यत्रबाट देशका लागि पैसा ल्याउनुपर्नेमा आफैंले लुटेका छन्। यो निर्णय अत्यन्त स्वागतयोग्य छ,’ टेनिस कोचसमेत रहेका फरहान राजले भने।

प्रकाशित: ८ भाद्र २०७९ ००:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App