९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत र अफगानिस्तानमा भारी वर्षा, अठचालीस जनाको मृत्यु

भारतमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ। पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको हो।  

हिमाचल प्रदेशमा मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। त्यहाँ छ जना अझै बेपत्ता छन्। त्यसैगरी घर भत्किँदा र पहिरोको छुट्टाछुट्टै घटनामा १२ जना घाइते भएका छन्। पहिरोको एउटा घटनामा एकै परिवारका आठ जनाको मृत्यु भएको छ। बाढीपहिरो प्रभाावित राज्यका पुल, सडक र राजमार्ग नराम्ररी क्षतिग्रस्त भएकाले आवतजावतमा अवरोध भएको छ। बाढीपहिरोका कारण हजारौँ स्वदेशी तथा विदेशी पर्यटक विभिन्न स्थानमा अलपत्र परेका छन्।

शनिबार साँझ हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले प्रभावित जिल्लाहरूमा उच्च सरकारी अधिकारीहरूलाई यातायात आवागमनका लागि भत्किएका सडक मर्मतसम्भर गर्न तथा  क्षतिग्रस्त पुल मर्मत वा पुनर्निर्माण गर्न निर्देशन दिएका थिए।

यसैबीच, अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा बाढीमा परेर १० जनाको ज्यान गएको छ भने सयौँ घर क्षतविक्षत भएका सरकारी समाचार संस्था बख्तरले आइतबार जनाएको छ। बाढीले सयौँ हेक्टर खेतबारीमा क्षति भएको छ।  विगत केही महिना यताको अविरल वर्षासँगै देशका विभिन्न भागमा भएका बाढीपहिरोका घटनामा परी दुई सयभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

प्रकाशित: ५ भाद्र २०७९ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App