२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बोलिभियाकी पूर्व राष्ट्रपति अनेजलाई १० बर्ष जेल सजायको फैसला

बोलिभियाकी पूर्व राष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ। उनलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो।

अहिले ५४ वर्ष भएकी अनेजलाई गत वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाइ र अनुसन्धान प्रक्रिया चलाइएको थियो। उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छिन्। आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुटा आरोपहरू लगाइएको उनको भनाइ छ।

पूर्व राष्ट्रपति अनेजले आरोपलाई अस्वीकार गरेपनि अदालतले दोषी ठहर गर्दै कारागार सजाय दिनुपर्ने फैसला गरेकाले उनले महिला कारागारमा तोकिएको समय बिताउनु पर्ने भएको छ। उनलाई लापाज स्थित कारागारमा राखिने अधिकारीहरूले जनाएका छन्।

उनले संविधानले दिएको आफ्नो जिम्मेबारी र अधिकारभन्दा बाहिर गएर अपराध गरेको देखिएकाले उनलाई सजायको फैसला गरिएको अदालतको भनाइ छ। उनका विपक्षीहरूले भने उनलाई कम्तीमा १५ वर्ष जेल सजाय हुनुपर्ने माग अदालतसँग गरेका थिए।

उनलाई राष्ट्रपति हुनुअघि सिनेटर भएको बेला देखि कै विभिन्न आरोपहरू लगाइएको छ। दक्षिणपन्थी नेतृ अनेज सन् २०१९ को नोभेम्बरदेखि ठिक एक वर्ष बोलिभियाको अन्तरिम राष्ट्रपति बनेकी थिइन्। त्यसअघि उनी बोलिभियाको सिनेटको उपाध्यक्ष भएकी थिइन्।

उनले तत्कालीन राष्ट्रपति इभो मोरालेजले राजीनामा दिएपछि आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गराराएकी थिइन्। मोरालेजले गराएको निर्वाचनमा धाँधली भएको भन्दै देशभरी चर्को विरोध भएपछि उनले राजीनामा दिन वाध्य हुनु परेको थियो।

राजीनामापछि आफूलाई असुरक्षा महसुस भएको भन्दै उनले मेक्सिकोमा शरण लिएकी थिइन्। उनले देश छाडेकाले पनि अन्तरिम राष्ट्रपतिको जिम्मेबारी सम्हाल्न अनेजलाई सजिलो भएको थियो। अनेज राजनीतिमा आउनु भन्दा अगाडि अधिवक्ता तथा लोकप्रिय टेलिभिजन कार्यक्रम प्रस्तोता समेत थिइन्। 

प्रकाशित: २८ जेष्ठ २०७९ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App