२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसको मिसाइल आक्रमणमा बालबालिका हताहत

युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसले व्यापक मिसाइल हमला गरेको छ। मध्य खार्किभमा रहेको राज्यको प्रशासनिक कार्यालयलाई लक्षित गरी भएको मिसाइल आक्रमणबाट भवन तथा त्यहाँ रहेका गाडीमा ठूलो क्षति पुगेको बिबिसीले जनाएको छ।

खार्किभ युक्रेनको यसअघिको राजधानी सहर पनि हो। त्यहाँ महत्वपूर्ण उद्योग तथा आइटी कम्पनीहरू छन्। करिब १६ लाख जनसंख्या रहेको खार्किभलाई युक्रेनको महत्वपूर्ण सहर मानिन्छ।

खार्किभमा केही दिनयता रुसले निरन्तर हमला गरिरहेको छ। रुसी हमलामा परी एक भारतीय विद्यार्थीको समेत मृत्यु भएको छ। भारतीय विदेश मन्त्रालयले यसको पुष्टि गरेको छ।

रुसले आवासीय क्षेत्रमा मिसाइल हमला गरिरहेको खार्किभका गभर्नर ओलेह सिनेहुओवले बताएका छन्। प्रशासनिक भवनमा गरिएको आक्रमणमा परी १० जना गैरसैनिकको मृत्यु भएको र २० जना घाइते भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। जेनेभा सम्झौताअनुसार युद्धका बेला आवासीय क्षेत्रमा हमला गर्नु युद्ध अपराध मानिन्छ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले खार्किभमा भएको रुसी हमलामा दर्जन बढी नागरिकको मृत्यु भएको बताउँदै त्यसलाई युद्ध अपराध भनेका छन्। सोमबार रुसले आवासीय भवनहरूलाई लक्षित गर्दै हमला गर्दा तीन बालबालिकासहित नौजनाको मृत्यु भएको थियो। जेलेन्स्कीले रुसी फौजले जेट आर्टिलरीमार्फत युक्रेनी जनतामाथि क्रुरतापूर्वक हमला गरेको बताएका छन्। ‘कुनै सैन्य गतिविधि नरहेको शान्त आवासीय क्षेत्रमा भइरहेको यो हमला प्रस्ट रूपमा सैन्य अपराध हो,’ राष्ट्रपतिले भनेका छन्।  

रुसी आक्रमणमा परी युक्रेनको उत्तर पूर्वी सहर ओख्तिर्कामा ७० युक्रेनी सैनिकले ज्यान गुमाएको बिबिसीले जनाएको छ। त्यस्तै राजधानी किएभतर्फ ठूलो संख्यामा रुसी सैनिक अघि बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  

राष्ट्रपति जेलेन्स्कीले मंगलबार युरोपियन संसद्को विशेष सत्रलाई सम्बोधन गरेका छन्। उनले आफ्नो मुलुकमाथि जे भइरहेको छ त्यो एउटा दुःखद घटना भएको बताएका छन्। सम्बोधनका क्रममा उनले युक्रेनलाई युरोपियन युनियनको सदस्यता दिन पनि आग्रह गरेका छन्। उनले आफूहरू आफ्नो भूमिका लागि, स्वतन्त्रताका लागि र जीवनका लागि लडिरहेको बताएका छन्। ‘हामीलाई कसैले तोड्न सक्दैन किनभने हामी युक्रेनी हौं,’ सम्बोधनका क्रममा उनले भनेका छन्।

उनले रुसले बालबालिकामाथि लक्षित गरेर आक्रमण गरिरहेको बताउँदै सोमबार मात्र १६ जना बालबालिकाको रुसी आक्रमणबाट मृत्यु भएको बताएका छन्। उनले युरोपेली संसद्लाई आफूहरू सँगै छौं भन्ने कुरा पुष्टि गर्न भनेका छन्। उनले भर्चुअल माध्यमबाट युरोपेली संसद्लाई सम्बोधन गरेका थिए। उनी बोल्दै गर्दा युरोपियन संघका सांसदले उठेर उनीप्रति सम्मान जनाएका थिए।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी जनतामाथि बर्बर रणनीति अपनाएको बताएका छन्। उनले पत्रकार सम्मेलनमार्फत पुटिनले युक्रेनका निर्दोष जनतामाथि बर्बर र अन्धाधुन्ध आक्रमण गर्ने रणनीति लिइरहेको बताए। हाल उनी युक्रेनमा रुसी आक्रमणका विषयमा मुख्य युरोपियन गठबन्धनसँग छलफलका लागि पोल्यान्डमा रहेका छन्। पत्रकार सम्मेलनमा पोल्यान्डका प्रधानमन्त्री पनि सहभागी थिए।

रुस र युक्रेनका बीचमा सोमबार वार्ता सुरु भए पनि बिनानिष्कर्ष टुंगिएको छ। बेलारुस र युक्रेनको सीमा क्षेत्रमा भएको वार्ता पुनः सुरु गर्ने गरी सकिए पनि युक्रेनमाथिको रुसी हमला भने रोकिएको छैन।

किएभमा भीषण हमला गर्ने रुसी चेतावनी

रुसी रक्षा मन्त्रालयले युक्रेनको राजधानी किएभमा भीषण हमलाको तयारी भइरहेको चेतावनी दिएको छ। मंगलबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले रुसी सैन्य बलले युक्रेनी सुरक्षा सेवाको प्राविधिक केन्द्रमा उच्चस्तरको सटिक हमलाको तयारी गरिरहेको जनाएको छ। ‘हामी युक्रेनी नागरिकलाई चेतावनी दिन चाहन्छौं, जो राष्ट्रवादीहरूमार्फत रुसविरुद्ध उक्साहटमा लागिरहेका छन्।

साथै किएभमा रहेका बासिन्दालाई पनि घर छोड्न आग्रह गर्छौं,’ रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। रसियाली सेनाले राजधानी किएभस्थित १३ सय फिट अग्लो टिभी टावर ध्वस्त बनाइदिएको छ।

रक्षा मामिलाका जानकारहरूका अनुसार रुसले आफ्ना कुल सैनिकमध्ये ७५ प्रतिशत युक्रेनमा खटाएको छ। रोएल युनाइटेड सर्भिस इन्स्टिच्युटमा ल्यान्ड वारफेयर तथा मिलिटरी साइन्सेजका शोधार्थी डा. ज्याक वाटलिङले यस्तो जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ।

प्रकाशित: १८ फाल्गुन २०७८ ००:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App