जिम्बाब्वेको करिबा तालमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।
शनिबार थप २६ शव फेला परेसँगै मृतकको संख्या ७२ पुगेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमध्ये १८ जना बालबालिका रहेको प्रहरीले जनाएको छ।
यो दुर्घटना मंगलबार तीव्र हावा र उच्च छालका कारण भएको जनाइएको छ। पुरानो यात्रुवाहक डुङ्गा करिबा शहरबाट उत्तरपश्चिम क्षेत्रमा रहेका ग्रामीण तथा माछा मार्ने समुदायतर्फ जाँदै गर्दा पल्टिएको थियो। ती क्षेत्रमा सडक सञ्जाल कमजोर भएकाले स्थानीयवासी मुख्य रूपमा जल यातायातमा निर्भर छन्।
अधिकारीहरूका अनुसार डुङ्गाको क्षमता ९० यात्रु भए पनि त्यसमा करिब १५३ जना सवार रहेको अनुमान गरिएको छ।
हालसम्म ७७ जनाको उद्धार गरिएको छ भने अझै केही व्यक्ति बेपत्ता हुन सक्ने आशंका गरिएको छ। यद्यपि डुङ्गामा कति जना सवार थिए भन्ने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।
प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार मृत्यु भएका १८ बालबालिकामध्ये १६ जना १० वर्षभन्दा कम उमेरका रहेका छन्।
करिबा ताल विश्वकै सबैभन्दा ठूलो मानव निर्मित तालहरूमध्ये एक हो। जाम्बेजी नदीमा सन् १९५० को दशकको अन्त्यतिर बाँध निर्माण गरेर बनाइएको यो ताल जिम्बाब्वे र जाम्बियाबीच फैलिएको छ।
यस दुर्घटनापछि डुङ्गाको क्षमता भन्दा बढी यात्रु चढाइएको र सुरक्षा मापदण्ड पालना भएरनभएको विषयमा छानबिन सुरु गरिएको अधिकारीहरूले बताएका छन्।
प्रकाशित: ३१ श्रावण २०८३ १३:१८ आइतबार





