पूर्वी इन्डोनेसियामा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पको एक दिनपछि उद्धार टोलीहरूले थप शव फेला पारेका छन्, जसले गर्दा मृत्यु हुनेको संख्या ५३ पुगेको छ।
भूकम्पका कारण हजारौं मानिस विस्थापित भएका छन् भने धेरैले परकम्पको डरले बाहिर खुला आकाशमुनि वा अस्थायी पालमा रात बिताएका छन्। मुस्लिम बहुल देशको मुख्यतया क्याथोलिक टापु फ्लोरेसमा भूकम्पले ठुलो क्षति पुर्याएको छ।
पहिरोमा पुरिएका मानिसहरूको खोजी गर्न उद्धारकर्ताहरूले भग्नावशेष पन्छाउने काम तीव्र बनाएका छन्। उनीहरूले मुख्यतया मङ्गाराई, पूर्वी मङ्गाराई र नागेकोओ जस्ता बढी प्रभावित क्षेत्रहरूमा ध्यान केन्द्रित गरेका छन्।
सिक्का रिजेन्सीको राजधानी मौमेरेमा रहेको खोज तथा उद्धार कार्यालयका प्रमुख फतुर रहमानले भने, ‘हामीले धेरैजसो पहिरो हटाएका छौं र पहिले सम्पर्कविच्छेद भएका गाउँहरूमा सडक पुनः खोलेका छौं, यद्यपि सञ्चार र बिजुली अवरुद्ध हुँदा खोजी कार्यमा कठिनाइ भइरहेको छ।’
पूर्वी नुसा टेङ्गारा प्रान्तमा ९०० भन्दा बढी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने ४५० भन्दा बढीमा क्षति पुगेको छ। यसबाट लगभग पाँच हजार मानिसहरू अस्थायी आश्रय स्थलमा बस्न बाध्य भएका छन्।
राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार फ्लोरेस क्षेत्रमा मात्रै कम्तीमा २४१ घरहरू क्षतिग्रस्त भएका छन्। पहिरोले ट्रान्स-फ्लोरेस राजमार्गका केही भागहरू पनि अवरुद्ध पारेको छ, जसले गर्दा दुर्गम क्षेत्रहरूमा पुग्न थप कठिनाइ भएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शनिबार बिहान १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो। सुनामीको चेतावनीपछि त्रसित बासिन्दाहरू आतंकित भएर सुरक्षित स्थानतर्फ भागेका थिए। अधिकारीहरूले त्यसबेलादेखि करिब ९९५ परकम्पहरू रेकर्ड गरेको जानकारी दिएका छन्, यद्यपि बासिन्दाहरूले ४६ वटा मात्र तीव्र धक्का महसुस गरेका थिए। यो विपद्मा १३० भन्दा बढी घाइते भएका छन्।
इन्डोनेसियाको प्रसिद्ध पर्यटकीय गन्तव्य लाबुआन बाजो लगायतका क्षेत्रमा पनि बासिन्दाहरू त्रसित भएर बाहिर बसेका थिए। स्थानीय किसान अनास्तासिया इमादले आफ्नो घर भत्किने अवस्थामा पुगेको अनुभव सुनाइन्।
यसबिचमा राहतकर्मीहरूले चामल, तयार खाना, पिउने पानी, कम्बल र औषधि वितरण गरिरहेका छन्। बिजुली र सञ्चार सेवा पुनर्स्थापित गर्नु तथा पहिरोबाट अलग्गिएका दुर्गम गाउँहरूमा सहायता पुर्याउनु अहिले अधिकारीहरूका लागि सबैभन्दा ठुला चुनौती बनेका छन्।
१७ हजारभन्दा बढी टापुहरूको द्वीपसमूह इन्डोनेसिया प्रशान्त महासागरीय "रिंग अफ फायर" मा अवस्थित रहेको कारण भूकम्प र ज्वालामुखी विस्फोटको उच्च जोखिममा रहँदै आएको छ। यसअघि पनि फ्लोरेस टापुले सन् १९९२ मा शक्तिशाली भूकम्प र सुनामीका कारण ठुलो धनजनको क्षति बेहोरेको इतिहास छ। एजेन्सी
प्रकाशित: १ भाद्र २०८३ ०६:४८ सोमबार




-600x400.jpg)
