coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हरितगृह ग्यास उत्सर्जनमा पुरुष ४०% बढी जिम्मेवार

महिलाले भन्दा अधिक मांसाहारी भोजन गर्ने पुरुष पृथ्वीको तापमान बढाउने हरितगृह ग्यास उत्र्सजनका लागि पनि ४० प्रतिशत बढीले जिम्मेवार रहेको पाइएको छ।

यसअघिका अध्ययनले धनी राष्ट्रमा अधिक मासु खपत हुने र मासुका लागि उपभोग हुने चौपायाका कारण मिथेन ग्यास उत्सर्जन र वन फँडानी बढेको देखाएका थिए।

बेलायतमा गरिएको पछिल्लो अध्ययनअनुसार भोजनका कारण हुने २५ प्रतिशत हरित ग्यास उत्सर्जनमा कफी,अल्कोहल तथा केक जस्ता ‘ऐच्छिक’ पेय पदार्थ जिम्मेवार पाइएको छ। दिगो भोजनका लागि वनस्पतिजन्य खाद्यवस्तुमा जोड दिनुपर्ने तथा पेय र गुलिया पदार्थलाई कटौती गर्न अध्ययनमा संलग्न वैज्ञानिकले सुझाएका छन्।

पश्चिमी राष्ट्रमा गरिएको एक अर्काे अध्ययनले शाकाहारी खाना मांसाहारीभन्दा एकतिहाइले सस्तो हुने र त्यस्ता खाना समृद्ध मध्यम वर्गले अधिक प्रयोग गर्ने धारणालाई फरक देखाएको छ।

पृथ्वीको तापमान बढाउन जिम्मेवार हरितगृह ग्यास उत्सर्जनका लागि खाद्यवस्तु उत्पादनको ३० प्रतिशत हिस्सा रहेको र जलवायु परिवर्तनले निम्ताउने संकट न्यूनीकरणका लागि मांसाहारी भोजनमा कटौती गर्नुपर्ने विभिन्न अध्ययनले देखाएका थिए।

मासुका लागि पालिने चौपायाका कारण मिथेन ग्यासको उत्सर्जन बढेको र वन फँडानीमा तीव्रता आएको भन्नेमा यसअघिका अध्ययन केन्द्रित रहेकोमा पछिल्लो अध्ययनअन्तर्गत समग्र खाद्यवस्तुले गर्ने सरदर उत्सर्जनको समीक्षा गरिएको छ।  

‘प्लोस वान’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित उक्त अध्ययनअन्तर्गत ३२ सय विभिन्न खाद्यवस्तु र दुई सय १२ जना बेलायतीले २४ घण्टामा उपभोग गरेको पेय पदार्थ तथा खानाको विषयमा अनुसन्धान गरिएको थियो।

अध्ययनअनुसार हरितगृह ग्यास उत्सर्जनका लागि पशुजन्य खाद्यवस्तुको हिस्सा झन्डै आधा रहेको देखिएको छ, जसमध्ये ३१ प्रतिशत मासु र १४ प्रतिशत डेरी उत्पादनको योगदान छ। यसैगरी, यस्ताखाले ग्यास उत्सर्जनमा पेय पदार्थको १५ प्रतिशत र केक,बिस्कुट तथा कन्फेक्सनरीको ८ प्रतिशत योगदान रहेको पाइएको छ।

अध्ययनले शाकाहारी भोजनभन्दा मासांहारी भोजनले ५९ प्रतिशत बढी हरितगृह ग्यास उत्सर्जन गर्ने र पुरुषको मासांहारी भोजन तथा पेय पदार्थ सेवन गर्ने व्यवहारले ४१ प्रतिशत बढी हरितगृह ग्यास उत्सर्जन हुने देखाएको छ।

‘पृथ्वीलाई जोगाउन हामी केही मात्रामा भए पनि योगदान दिन चाहन्छौं,’ अध्ययनमा सलग्न युनिभर्सिटी अफ लिड्सका वैज्ञानिक होली रिपिनले भने, ‘हामीले मासु तथा मिष्ठान्न कम खाएर पृथ्वीलाई जोगाउन योगदान गर्न सक्छौं।’ महिलाले भन्दा पुरुषले किन अधिक मासु सेवन गर्छन् भन्ने विषयलाई अध्ययनले समीक्षा नगरेको जानकारी दिँदै उनले सरदरमा महिलाले भन्दा पुरुषले अधिक खाना खाने र मासुमा आधारित पारम्परिक भोजनमा पनि पुरुषको अधिक चाहना हुने भएकाले यसो भएको हुन सक्ने बताए। 

हालै गरिएको एक अर्काे अध्ययनले महिलाले भन्दा पुरुषले सामानको खरिद बढी गर्ने र यसले १६ प्रतिशत अधिक हरितगृह ग्यास उत्सर्जन गर्ने देखाएको थियो। महिला र पुरुषले गर्ने सामान खरिद मूल्यमा खासै फरक नभए पनि पुरुषले सवारीसाधन चलाउँदा प्रयोग हुने पेट्रोल र डिजेलका कारण उनीहरूले गर्ने उत्सर्जन अधिक देखिएको हो।  

उक्त अध्ययनमा ४० हजार ब्रान्डेड खाद्यवस्तुको डाटाबेस तयार गरिएको र ब्रान्डको फरक रोजाइले खाद्यवस्तुजन्य उत्सर्जनमा कमी ल्याउन सकिने जनाइएको छ। अध्ययनका क्रममा हालै वैज्ञानिक जर्नल ल्यान्सेटमा प्रकाशित विभिन्न भोजनको मूल्यको समीक्षात्मक विषय पनि समावेश गरिएको थियो। अध्ययनअन्तर्गत १५० देशका सात प्रकारका दिगो भोजनको मूल्य समीक्षा गरिएको थियो।  

अधिक आय भएका राष्ट्रमा सरदर भोजनको मूल्यभन्दा शाकाहारी भोजन २१ देखि ३४ प्रतिशतले सस्तो रहेको अध्ययनले देखाएको थियो। अध्ययनमा संलग्न अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता मार्काे स्प्रिङम्यानले भोजनले बचत, मानिसको तथा पृथ्वीको स्वास्थ्यमा समेत प्रभाव पार्ने भएकाले स्वास्थ्य र वातावरणमैत्री खानामा जोड दिनुपर्ने बताए।

डब्लुडब्लुएफले हालै गरेको एक सर्वेक्षणअनुसार ७० प्रतिशत बेलायतीले वातावरणमैत्री खाना खानुपर्नेमा जोड दिएका थिए। तर उनीहरूले यस्ता खाना अधिक महँगो हुने पनि बताएका थिए।

धनी राष्ट्रले पोषण निर्देशिकाले निर्देशित गरेअनुसार भोजन कार्यान्वयन गर्न सकेका छैनन् र ती राष्ट्रमा सिफारिस गरिएभन्दा अधिक मात्रामा मासु उपभोग हुने गरेको छ। पछिल्ला यी २ अध्ययनले स्वस्थ खानाले हरितगृह ग्यास उत्सर्जन पनि कम गर्ने देखाएका छन्। (गार्जियन)।

प्रकाशित: ८ मंसिर २०७८ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App