८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

तालिबान काबुल पसेपछि राष्ट्रपति घानीले देश छाडे

जलालावादलाई नियन्त्रणमा लिएपछि आइतबार स्थानीय बासिन्दासँगै अफगान नेसनल आर्मीको गाडीमा बसेका तालिबान लडाकु । तस्बिर: एएफपी

तालिबान लडाकु आइतबार राजधानी काबुल प्रवेश गरेपछि अफगानिस्तानका राष्ट्रपति अस्रफ घानी देश छाडेर ताजिकिस्तानतर्फ लागेका छन्। राष्ट्रपतिको कार्यालयले सुरक्षाको कारण देखाई उनको यात्राबारे केही भन्न नमिल्ने बताए पनि एक वरिष्ठ मन्त्रीले घानी ताजिकिस्तानतर्फ लागेको पुष्टि गरेका हुन् । तालिबान लडाकुका एक प्रतिनिधिले घानी कहाँ छन् भन्नेबारे सोधखोज भइरहेको बताए। 

तालिबान लडाकुले एकपछि अर्काे प्रान्त र सहर कब्जा गरेपछि काबुलस्थित अमेरिकी दूतावासका कर्मचारीलाई हेलिकोप्टरबाट विमानस्थल लगिएको छ। अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा आतंककारी हमला भएपछि अमेरिकी नेतृत्वको सैन्य कारबाहीका कारण अफगानिस्तानमा तालिबान सरकार सत्ताच्युत भएको थियो। २० वर्षपछि तालिबानले पुनः सत्ता सम्हाल्ने देखिएको छ ।

तालिबान लडाकुले सबैतिरबाट राजधानी काबुललाई घेरेको एक वरिष्ठ मन्त्रीले रोयटर्सलाई बताए। तर कुनै प्रकारको आक्रमण भएको रिपोर्ट प्राप्त भएको छैन। तालिबान समूहका प्रवक्ता जुबिहुल्लाह मुजाहीले शान्तिपूर्वक सत्ता हस्तान्तरणका लागि पश्चिमी राष्ट्रको समर्थनमा बनेको सरकारसँग वार्ता भइरहेकाले आफूहरू काबुल वरपर बसेर नतिजा पर्खिरहेको बताए। ‘शान्तिपूर्वक र सन्तोषजनक हिसाबले सत्ता हस्तान्तरण नभएसम्म काबुलका सबै प्रवेशद्वारमा लडाकु तम्तयार भएर बसेका छन्,’ उनले भने। अफगानी सरकार र लडाकु समूहका प्रतिनिधि कतारमा भेट्ने तयारीमा रहेको सरकारी वार्ता टोलीका एक सदस्यले बताए। शान्तिपूर्वक सत्ता हस्तान्तरणका विषयमा भेटवार्ता केन्द्रित हुने र अमेरिकी अधिकारीसमेत उक्त वार्तामा सहभागी हुने बताइएको छ ।

तालिबानको फेरिने चाह

विगतमा किशोरीलाई विद्यालय पढ्न निषेध गर्ने र अरोपीलाई ढुगा हान्ने, झुन्ड्याउने तथा अंगभंग गर्नेजस्ता कट्टर इस्लामिक कारबाही गर्ने गरेको तालिबान यति बेला भने आधुनिक हिसाबमा प्रस्तुत हुन चाहेको देखिएको छ। उक्त समूहका अर्का प्रवक्ता सुहैल साहिनले तालिबानले महिला अधिकारको सुरक्षा गर्ने तथा सञ्चारकमी एवं कूटनीतिज्ञलाई पनि स्वतन्त्र छाड्ने बताएका छन्। ‘हामी सबै नागरिक र विशेषगरी काबुलवासीलाई उनीहरूको जीवन तथा सम्पत्तिका लागि आश्वस्त रहन अनुरोध गर्छौ,’ उनले बिबिसीलाई भने। उनले केही दिनमा सत्ता हस्तान्तरण हुने पनि बताए। अफगानिस्तानका सरकारी सैनिकलाई सशक्त पार्न अमेरिका तथा अन्य राष्ट्रले अर्बाैं डलर खर्च गर्दा पनि तालिबान लडाकुले यति छिटो र सजिलोसँग आफ्नो वर्चस्व स्थापना गर्न सफल भएकोमा विश्व समुदाय छक्क परेको छ। 

गत सातामात्रै एक अमेरिकी खुफिया एजेन्जीले आगामी ३ महिनामा काबुल नियन्त्रणबाहिर जानसक्ने जनाएको थियो। राष्ट्रपति घानीले काबुल छाडेको समाचार सार्वजनिक हुनुअघि राष्ट्रपति कार्यालयका एक अधिकारीले अमेरिकी शान्तिदूत जाल्मे खालिलजाज र नाटोका अधिकारीसँग राष्ट्रपतिले आपत्कालीन वार्ता गरेको बताएका थिए। अफगान सरकारका कार्यबाहक गृहमन्त्री अब्दुल सतार मिर्जाकवालले टोलो न्युज च्यानललाई ‘काबुलमा कुनै आक्रमण नहुने र शान्तिपूर्वक सत्ता हस्तान्तरणका लागि सहमति भएको’ बताएका थिए। तर सत्ता हस्तान्तरणको प्रक्रिया कस्तो हुने भनेर उनले प्रस्ट पारेनन् ।

दूतावासमा हेलिकोप्टर

अमेरिकी अधिकारीले काबुलमा रहेका कूटनीतिज्ञलाई हेलिकोप्टरबाट विमानस्थलसम्म पु¥याइएको बताएका छन् भने नाटोको एक अधिकारीले युरोपियन युनियनका कर्मचारीलाई काबुलमा रहेका एक सुरक्षित स्थानमा लगिएको बताएका छन्। उता अमेरिकाले आफ्नो दूतावासका कर्मचारीलाई विमानस्थलमा सारिएका बताएको छ। नाटोका अर्का अधिकारीले विमानस्थलको सुरक्षा र संकटको राजनीतिक समाधानका लागि एलायन्स कार्यरत रहेको बताएका छन्। रुसले आफ्नो दूतावासका कर्मचारीलाई तत्काल अन्यत्र सार्ने कुनै योजना नभएको बताएको छ ।

आइतबार सबेरै कुनै लडाइँबिना तालिबान लडाकुले अफगानिस्तानको पूर्वी सहर जलालावाद कब्जा गरेका थिए। यसैगरी पाकिस्तान जोड्ने टोर्खाम सिमाना क्षेत्र तालिबानले कब्जा गरेका छन्। यसरी अफगानिस्तान बहिर जान चाहनेका लागि सरकारी नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल एकमात्र बाटो बनेको छ ।

उता तालिबानले सार्वजनिक गरेको एक भिडियोमा यो कारबाहीप्रति मानिसहरू खुसी भएको र ‘अल्लाहु अकबर’ अर्थात् भगवान सबैभन्दा ठूला हुन् भनेर नारा लगाएको देखाइएको छ। इरानले अफगानी सीमानजिक शरणार्थीका लागि अस्थायी क्याम्प बनाइएको बताएको छ।  

संक्रमणकालका लागि पूर्वगृहमन्त्री तथा अमेरिकास्थित प्राज्ञ अली अहमद जलाली प्रशासनिक प्रमुख हुन सक्ने तीनवटा कूटनीतिक स्रोतले रोयटर्सलाई बताएका छन् तर यो प्रस्तावमा तालिबानको सहमति भएनभएको प्रस्ट छैन। आफ्नो अमेरिकी नागरिकता छाड्न तयार नभएकाले सन् २०१४ जलाली राष्ट्रपति पदको प्रत्याशी हुन पाएका थिएनन्। अमेरिकी नेतृत्वमा रहेका विदेशी सैनिक गत महिना अफगानिस्तानबाट फिर्ता भएपछि तालिबानले एकपछि अर्काे प्रान्त कब्जा गर्ने अभियान अगाडि बढाएको हो। अफगानी जनताको ठूलो समर्थन रहेकाले यो अभियान सफल भएको तालिबानको छ ।

प्रकाशित: ३२ श्रावण २०७८ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App