coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा कोरोना महामारी

कोरोनाको डेल्टा भाइरसका कारण इन्डोनेसियामा डरलाग्दोसँग महामारी फैलिएको छ। यथेष्ट मात्रामा खोप नलगाएका विश्वका अन्य मुलुकमा पनि यसरी नै महामारी फैलिन सक्ने देखिएको छ।  

हालैको एक अपराह्नमा इन्डोनेसियाको राजधानी जाकार्तानजिक समाधिस्थलमा ११ वटा एक्साभेटर चिहान खन्न व्यस्त थिए। मृतक बोकेका एम्बुलेन्स समाधिस्थलनजिकै लामो लाममा थिए। शोकमग्न परिवारजन समाधिस्थलअघि बसेर प्रार्थना गरिरहेका थिए।  

सदाम सैफुल्ला र उनका सहयोगीले हरेक दिन १०० भन्दा बढी शवलाई समाधिस्त गर्छन्। गत मार्चमा यस समाधिस्थलमा दैनिक ५ मृतक ल्याइने गरेको थियो। ‘अहिले हामी रातभर काम गरिरहेका छौं,’ कोरोनाका कारण मृत्यु भएकालाई छुट्याइएको उक्त समाधिस्थलमा कार्यरत सैफुल्ला भन्छन्।

पछिल्ला साताहरूमा इन्डोनेसियामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत वसन्तमा भारतमा महामारीको दोस्रो उत्कर्षका बेला परिवारका सम्पूर्ण सदस्य बिरामी भएको, अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेको र मानिस अक्सिजन किन्न लामबद्ध भएको दृश्य देखिन्थ्यो। यस्तै दृश्य अहिले इन्डोनेसियामा देखिन्छ। इन्डोनेसियामा बिहीबार ५६ हजार ७५७ जना संक्रमित थपिएको र ९८२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

खोपमा पहुँच हुन नसक्दा र वितरणमा असमानताका कारण विकासोन्मुख देशमा भाइरस संक्रमणको नयाँ लहर देखिएको छ। यी देशले आफ्ना नागरिकलाई आवश्यक खोप जोहो गर्न सकेका छैनन्। खोप अभियानको व्यापकताका कारण डेल्टा भाइरसका बिरामी देखिए पनि अमेरिका, बेलायत जस्ता देशका अस्पतालमा भर्ना संख्यामा कमी आएको छ र जनजीवन सामान्य बन्दै गएको छ।  

अमेरिकामा सर्वसाधारणले ग्रीष्मकालीन लामो बिदा मनाउन सुरु गरिसकेका छन् भने कार्यालयहरू पुनः सञ्चालन हुन थालेका छन्। बेलायतमा विम्बलड्न टेनिस प्रतियोगिता तथा युरोपियन फुटबल प्रतियोगिता बेरोकतोक सम्पन्न भएका छन्। मास्क नलगाएका हजाराैं दर्शक रंगशालामा देखिन र उफ्रिन थालेका छन्। तर दक्षिण अफ्रिका, बंगलादेश, इन्डोनेसियाजस्ता देशमा कोरोनाको यसअघिको प्रजातिभन्दा दुईगुणा बढी संक्रामक मानिएको डेल्टा भाइरसको प्रसारण रोक्न लकडाउन जारी छ।  

इन्डोनेसियाका जाभा, सुमात्रा, सुलावेसी तथा कालिमान्टानलगायत टापुमा डेल्टा भेरियन्ट देखिएको छ। ‘हामीले फरक खाले शत्रुसँग सामना गर्नुपरेको छ,’ इन्डोनेसियाका वरिष्ठ मन्त्री लुहुट पान्डजैटानले भने, ‘हामी सम्पूर्ण सामथ्र्य प्रयोग गरेर यो भेरियन्टविरुद्ध लागेका छौं तैपनि नियन्त्रण गर्न त्यति सजिलो देखिएको छैन।’  

जुलाईको पहिलो १० दिनमा बंगालादेशमा कोरोनाबाट दिनहुँ १६९ जनाको मृत्यु भएको थियो। १० दिनअघिको तुलनामा यो संख्या ७५ प्रतिशतले बढी हो। जुलाईको पहिलो १० दिनमा दक्षिण अफ्रिकामा दैनिक मृत्युदरमा दुईगुना वृद्धि भयो। यसैगरी इन्डोनेसियामा यो दरमा ८२ प्रतिशतले वृद्धि भएर दिनहुँ सरदर ७ सयजनाको मृत्यु भइरहेको छ। अक्सफोर्ड विश्व विद्यालयअन्तर्गत रहेको ‘आउर वल्र्ड इन डाटा’ नामक परियोजनाका अनुसार यी तीनवटै देशमा खोपको दुवै डोज लिएको जनसंख्या ६ प्रतिशतभन्दा कम छ। ‘यो महामारीको खतरनाक विन्दुमा विश्व पुगेको छ,’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले गत साता भनेका थिए।  

कुल २७ करोड जनसंख्या भएको इन्डोनेसियाका अस्पतालका कोभिड वार्ड अहिले बिरामीले भरिएका छन्। अस्पतालबाहिर पनि पालमा राखेर बिरामीलाई आधारभूत उपचार गरिएको छ। कतिपय जटिल बिरामीलाई घर फर्काइएको छ। चिकित्सकका अनुसार स्वास्थ्य प्रणालीमा ठूलो चाप परेकाले बिरामी अन्तिम अवस्था भएपछि मात्र अस्पताल पुग्ने गरेको र त्यही कारणले धेरैको ज्यान जाने गरेको छ।  

यसैबीच, अमेरिकी समाचार संस्था सिएनएनका अनुसार जाकार्ताको १ करोड ६ लाख जनसंख्यामध्ये आधालाई कोरोना संक्रमण भएको शनिबार सार्वजनिक गरिएको एक सर्भेक्षणले देखाएको छ। सुरुदेखि नै सख्त लकडाउन र कन्ट्याक्ट ट्रेसिङलाई यथेष्ट ध्यान नदिएका कारण इन्डोनेसियामा महामारीले यो उग्र रूप लिएको विज्ञको तर्क छ।  

अर्काे एसियाली देश म्यान्मारमा पनि संक्रमण बढ्दो क्रममा छ। त्यहाँ बुधबार ७ हजार ८३ जनामा संक्रमण भएको र १४५ जनाको मृत्यु भएको सैनिक सरकारले जनाएको छ। सैनिकले सञ्चालन गरेका अस्पतालप्रति सर्वसाधारणको विश्वास नरहेकाले उनीहरू घरमै बस्ने गरेको सिएनएनले जनाएको छ। मलेसियामा पनि बुधबार ११ हजार ६१८ जना संक्रमित थपिएका छन्। मलेसियाको सरकारी स्वामित्वमा रहेको बर्नामा न्युजका अनुसार बुधबार ४ लाख ३५ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ।  

(वालस्ट्रिट जर्नलमा प्रकाशित आलेखको भावानुवाद)

प्रकाशित: २ श्रावण २०७८ ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App