१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

एक सय २८ वर्ष पुरानो बाइबल छोएर अमेरिकी राष्ट्रपति बाइडेनद्वारा कार्यभार ग्रहण

अमेरिका, संसारकै शक्तिशाली र लोकतान्त्रिक व्यवस्था भएको देश अमेरिकामा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कार्यभार सम्हालेका छन्। अमेरिकी इतिहासमा संसारकै सुरक्षित मानिएको अमेरिकी संसदमा निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटमा आक्रमण भएपछि पहिलो पटक सुरक्षा घेराबीच सपथ ग्रहण सम्पन्न भयो। ४६ औ राष्ट्रपति बाइडेनले सपथ ग्रहणपछि अमेरिका र प्रजातन्त्रको प्रतिरक्षा गर्ने प्रतिबद्धता जनाए। सम्बोधनमा उनले भने 'आजको यो दिन अमेरिकाको हो, लोकतन्त्रको दिन हो, यो इतिहास र आशाको दिन हो। अमेरिकाको धेरै चोटि धेरै परीक्षा भयो र यो चुनौतिहरूको साथ उभिएको छ। आजले हामी एक जना उम्मेदवारको जीत होइन, प्रजातन्त्रको जीत मनाइरहेका छौं।’

बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति, कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति एक महिनाअघि निर्वाचित भएका हुन्। जो बाइडेनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसबाट बाइबललाई साक्षी राखेर सपथ लिएका हुन्। बाइडेनले शपथ लिँदा एक सय २८ वर्ष पुरानो बाइबल छोएका थिए । सन् १९८३ देखि सो बाइबल बाइडेन परिवारसँगै छ । सन् २००९ र २०१३ मा लगातार दुईपटक उपराष्ट्रतिमा चुनिँदा उनले त्यही बाइबलमाथि हात राख्दै शपथ लिएको जनाइएको छ ।

विगतमा राष्ट्रपतिले नै कार्यभार हस्तान्तरण गर्ने परम्परालाई ट्रम्पले वेवास्ता गर्दै हस्तान्तरण कार्यक्रम शुरु हुनुअगावै ट्रम्पले ह्वाईट हाउस छाडे। अमेरिकी इतिहासमा एक सय ५२ वर्ष अघि एन्ड्रयू जोन्सनले पदभार कार्यक्रममा सहभागी भएका थिएनन्। यसअघि तीन जना राष्ट्रपति पदभार कायक्रममा सहभागी भएका छैनन्। ७८ वर्ष पार गरिसकेका बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति एक महिना अघि नै तय भए पनि अमेरिकाको परम्पराअनुसार जनवरी २० तारिकमा शपथ लिने गरिन्छ। अमेरिकाको लोकतान्त्रिक इतिहासमा आफै सरकार प्रमुख भएर चुनावी परिणाम अस्वीकार गर्दै सत्ता छाड्न अनाकानी गरेका डोनाल्ड ट्रम्प सामान्य बिदाइ प्रक्रियाबाट घर फर्के। ट्रेनबाट ह्वाईट हाउस आएर शपथ लिने तयारी गरेका बाइडेनलाई सुरक्षाका कारण पुरानै परम्परागत शैलीमा आएर सपथ ग्रहण गरे।

बाराक ओबामाको दुई कार्यकाल (आठ वर्ष)का उपराष्ट्रपति र तीन दशक सिनेटमा काम गरेका बाइडेन अमेरिकी नीति, चाल र आफ्नो जिम्मेवारीमा अनुभवी र स्पष्ट छन्।

सन् १९८७ र २००८ मा राष्ट्रपतिमा उम्मेदवारी दिएका बाइडेनले आफ्नै दलभित्र समर्थन जुटाउन नसकेपछि पछि हटेका थिए। सपथग्रहणपछि विशेष सम्बोधन गर्दै अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडेनले आफू सबै अमेरिकीहरुको राष्ट्रपति हुने प्रतिबद्धता व्यक्त गरेका छन्। विश्व समुदायका लागि निकै कौतुहलको रुपमा उदाएका बाइडेनका लागि आगामी दिन त्यति सजिलो छैन। एकातिर निर्वतमान राष्ट्रपति ट्रम्पले विगारेको विश्वसामु अमेरिकी साँखलाई पुर्नस्थापित गर्ने र कोरोनाबाट उब्जेको अर्थतन्त्र र सुरक्षाको प्रत्याभुति दिनु अहिलेको प्रमुख चुनौति हो। ह्वाईट हाउसमा पद हस्तान्तरण प्रक्रिया चलिरहँदा विश्वका अन्य शक्ति सम्पन्न मुलुकहरुले बाइडेनलाई अमेरिकी साँख पुरानै अवस्थामा फर्काउन भन्दै शुभकामना दिई रहेका छन्। तर अमेरिकी भूमिका ट्रम्पले छाडेर गएको गहिरो अमेरिकी जनताबीचको मतभेदलाई समान गराउन पनि उत्तिकै पापड पेल्नु पर्नेछ। किनकी राजनीतिका पण्डितहरुका अनुसार अमेरिकमा ट्रम्पले जनताबीच निकै ठूलो विभाजन गराएका छन्।

राष्ट्रपति बाइडेनको पहिलो निर्णयहरु

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारी, जलवायु परिवर्तन र आर्थिक सहायता सम्बन्धी बाइडेनले १७ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेको  समाचार एजेन्सीहरुले जानएको छ।

बाइडेन संघीय भवन र भूभागहरुमा मास्क अनिवार्य गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् भने एउटा राज्यबाट अर्को राज्यमा यात्रा गर्दा पनि मास्क अनिवार्य लगाउनु पर्नेछ। त्यस्तै बाइडेनले हस्ताक्षर गरेको अर्को कार्यकारी आदेश कम सुविधा पाइरहेको समुदायका लागि सहयोग बढाउने सन्दर्भको रहेको छ भने अर्को कार्यकारी आदेश पेरिस जलवायु सम्झौतामा पुन समावेश हुने रहेको छ। जुन पेरिस संझौतालाई ट्रम्प प्रशासनले खारेज गरेका थिए।

बाइडेनले घोषणा गरेको अमेरिकामा रहेका कागजपत्रविहीनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने बिल पारित गराउनका लागि संसदसमक्ष पठाउने अपेक्षा गरिएको छ। बाइडेनले संघीय विद्यार्थी ऋण भएका अमेरिकन विद्यार्थीको ऋण पेमेन्ट र ब्याज स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह पनि गरेका छन्। डोनाल्ड ट्रम्पले विभिन्न मुस्लिम बाहुल्य देशहरुमाथि लगाएको प्रतिबन्ध पनि बाइडेनले हटाउने जनाइएको छ। बाइडेनलाई दुवै सदनमा काम गर्न अबको दिनमा सजिलो हुने भएकोले उनले घोषणा गर्ने कार्यक्रमहरु कार्यन्वयनमा आउनेछन्। दुवै सदन सिनेट र कँग्रेस दुवैमा उनको पार्टी डेमोक्र्याटको बहुमत पुग्नेछ।

ट्रम्प कहाँ गए ?

आफ्ना उत्तराधिकारी बाइडेनलाई ह्वाइट हाउसमा स्वागत नगरी फ्लोरिडा उडेका ट्रम्पले ऐतिहासिक संस्कार विधि समेत लत्याएका छन्। राष्ट्रपति पद छोड्ने अन्तिम समयमा उनले ७३ जनालाई क्षमादान दिएका छन्। ह्वाईट हाउसमा पद हस्तान्तरण शुरु हुनु केहि अघि ट्रम्प एयर फोर्स वानमा चढेर फ्लोरिडामा रहेको आफ्नो निजी रिसोर्ट मार ए लागो गए। उनलाई सामान्य विदाई मात्र भयो। विगतमा पार्टीका नेता तथा राष्ट्रपतिले विदाई गर्ने परम्परा भए पछि सो विदाई समारोहमा कोही गएनन्। न्युयोर्कबाट फ्लोरिडामा बसाई सराई गरिसकेका उनले त्यहाँ रहँदा आफ्ना ह्वाइटहाउसका केही सहयोगीहरुलाई पनि व्यक्तिगत कर्मचारीका रुपमा सँगै राख्ने जनाइएको छ।

कार्यकालको अन्तिम दिन बिदाइ सम्बोधन गर्दै ट्रम्पले आफ्नो प्रशासनको बचाउ गरेका थिए। 'अमेरिका कातर आत्माहरूको देश होइन, जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ,’ उनले भने, 'हामी सधै संसारका लगि आशा, प्रकाश तथा गौरवको भूमि हौं र भविष्यमा पनि रहिरहनुपछ ।’

आगामी प्रशासनबारे समेत उनले केहि सुझाव दिएका छन्। 'नयाँ प्रशासन अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइराख्न सफल होस् भन्ने हाम्रो कामना छ,’ उनले भने। आफू निर्वाचित हुनुको उद्देश्य पूर्णरुपमा प्राप्त भएको ट्रम्पको दाबी छ। उनले भने, 'हामी जे गर्न आएका थियौं त्यो भयो। सबभन्दा मुख्य कुरा हामीले अमेरिकामा सरकार जनताप्रति जवाफदेही हुन्छ भन्ने मान्यता पुनःस्थापित गर्न सफल भयौं।’

सम्बोधनको अन्त्यमा ट्रम्पले आफ्नो आन्दोलन सुरु भएको बताए। 'जब म बुधबार नयाँ प्रशासनलाई सत्ताको बागडोर सुम्पदैंछु, म चाहन्छु तपाईंहरूले बुझ्नुहोस की हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ।’

नव निर्वाचित राष्ट्रपतिको सपथमा सहभागी नहुने ट्रम्पमात्र पहिलो राष्ट्रपति भने होइनन्। जोन आडम्स, जोन क्वीन्सी आडम्स र एन्ड्रयु जोन्सन पनि नव निर्वाचित राष्ट्रपतिको सपथमा सहभागी भएका थिएनन्। ट्रम्पलाई जस्तै जोन्सनलाई पनि महाभियोग लगाइएको थियो। गत बुधबार अमेरिकाको प्रतिनिधिसभाले ट्रम्पलाई महाभियोग लगाइसकेको छ भने सनेटबाट पास हुन बाँकी छ। ट्रम्प अमेरिकी इतिहासमा दुईपटकसम्म महाभियोग लगाइएका पहिलो राष्ट्रपति हुन्। उनलाई शक्तिको दुरुपयोग गरेको अभियोगमा सन् २०१९ को डिसेम्बरमा प्रतिनिधिसभाबाट महाभियोग लगाइएको थियो। तर उनले सिनेटबाट भने उन्मुक्ति पाएका थिए।

सपथ ग्रहणमा को को सहभागी भए ?

ट्रम्प सहभागी नभएपनि सपथ ग्रहण कार्यक्रममा रिपव्लिकनका सबै बरिष्ठ नेता तथा उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नी करेन पेन्स भने सहभागी भए। पूर्वराष्ट्रपतिहरु बराक ओबामा, बिल क्लिन्टन र जर्ज डब्ल्यु बुस पनि सपत्नी सपथग्रहण समारोहमा सहभागी भएका थिए। स्वास्थ्य अवस्थाका कारण ९६ बर्षका पूर्व राष्ट्रपति जिम्मी कार्टर भने सहभागी नहुने सुचना दिएका थिए।

जनवरी ६ मा भएको दंगाफसादपछि बाइडेनको सपथग्रहण समारोहलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको थियो। वासिंटन डिसीमा संकटकाल लगाइएको छ भने २० हजार सेना परिचालन गरिएको थियो। सपथग्रहण र त्यसको सेरोफेरोमा सबै ५० वटा राज्य र वासिंटन डिसीमा सशस्त्र प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा शतर्कता अपनाइएको थियो। अमेरिकी ईतिहासमा यस्ता घटना विरलै हुने भन्दै ट्रम्प र उनको योजनामा भएको भनिएको घटनालाई विश्वभरबाट आलोचना भईरहेको छ।

लोकतान्त्रिक व्यवस्था बलियो भए लोकतन्त्रविरुद्ध आक्रमण गरी तानाशाह बन्न गरेको प्रयासहरु त्यहाँको राजनीतिक प्रणालीले असफल तुल्याउँछ भन्ने कुरा यसपटक अमेरिकी भुमिका पुष्टि भएको छ। यो घटनाको एउटै पाठ छ– लोकतन्त्रका संस्था बलिया भए भने निर्वाचनबाट आएर तानाशाह बन्न खोज्ने नेताहरूले एक कार्यकाल बिगारे पनि सम्पूर्ण राजनीतिक प्रणालीलाई ध्वस्त पार्न सक्दैनन् भन्ने कुरा अमेरिकी घटनाबाट पुष्टि भएको छ।

ट्रम्प अमेरिकी इतिहासमा दुईपटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति भए र उनले प्रत्येक वर्ष पाउने दुई लाख डलर निवृत्तिभरण, १० लाख डलर यातायात खर्च र अन्य सुविधा खोसिनेछ। त्यति मात्र होइन, भविष्यमा उनले कहिल्यै सार्वजनिक जिम्मेवारीको पदमा समेत बस्न पाउनेछैनन्। उनले २०२४ मा फेरी राष्ट्रपतिमा उठ्ने योजनामा पनि ठेस पुगेको बताइएको छ।

समावेसी मन्त्रिपरिषद

राष्ट्रपति जो बाइडेनको मन्त्रिपरिषदलाई अमेरिकी इतिहासकै समावेसी भनिएको छ। जसमा उपराष्ट्रपति कमला ह्यारिससहित १५ वटा विभिन्न कार्यकारी विभागका प्रमुखहरु हुनेछन्। त्यो बाहेक अन्य केही पदहरु पनि मन्त्रिपरिषद् स्तरका हुन्। कमला हयारिससहितका २६ मन्त्रिपरिषद् स्तरका पदमा १२ जना महिला रहेका छन्। बाइडेनको मन्त्रिपरिषद्मा कमला ह्यारिससहित ६ जना अश्वेत, एकजना आदिवासी अमेरिकन, ४ जना ल्याटिनो, २ जना एसियन, १२ जना श्वेत अमेरिकन रहेका छन्।

प्रकाशित: ८ माघ २०७७ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App