६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा बाइडेनले सपथ लिँदै

अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले बुधबारदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्दै छन् । गत नोभेम्बर ३ मा अमेरिकामा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विजयी हासिल गरेका उनलाई यही जनवरी ६ मा अमेरिकी कंग्रेसले आधिकारिकता दिएको थियो । अमेरिकाको संविधानअनुसार राष्ट्रपतिका रुपमा निर्वाचित व्यक्तिले जनवरी २० बाट कार्यकाल सुरु गर्ने व्यवस्था रहेको छ ।  

बाइडेनले कडा सुरक्षा व्यवस्थाबीच राष्ट्रपतिको सपथ ग्रहण गर्ने छन् । उनको सपथग्रहण कार्यक्रममा अमेरिकी नेशनल गार्डका १० हजार सुरक्षाकर्मी तैनाथ हुने जनाइएको छ । आवश्यकता अनुसार थप पाँच हजार सुरक्षाकर्मी पनि खटाउन सकिने जनाइएको छ । उनको सपथ ग्रहणका बेला वाशिंगटन डिसीमा संकटकालको अवस्था हुनेछ । बाइडेनसँगै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले पनि बुधबार नै सफल लिएर आफ्नो कार्यकाल सुरु गर्दैछिन् । अमेरिकामा उपराष्ट्रपतिमा निर्वाचित हुने उनी पहिलो महिला हुन् ।

बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचित भएको औपचारिक घोषणाको तयारी भइरहेका बेला वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकबाट भएको आक्रमणलाई मध्यनजर गर्दै उनको सपथ ग्रहण कार्यक्रममा कडा सुरक्षाको व्यवस्था गरिएको हो । संसद् भवनमा सपथ ग्रहणको कार्यक्रम सम्पन्न भएसँगै उनी चार वर्षका लागि राष्ट्रपति भवन ह्वाइट हाउस जानेछन् ।  

जनवरी ६ मा कंग्रेसले बाइडेनको जितलाई आधिकारिकता दिने तयारी गर्दै गर्दा राष्ट्रपति ट्रम्पका समर्थकले संसद् भवन क्यापिटोलमाथि हमला गर्दा एक सुरक्षाकर्मीसहित ५ जनाले ज्यान गुमाएका थिए । वर्तमान राष्ट्रपति ट्रम्पले आफ्नो हार स्वीकार नगरी समर्थकहरूलाई संसद् भवनमा आक्रमणका लागि उस्काएपछि विश्वलाई लोकतन्त्रको उदाहरण पेश गर्ने अमेरिकामा सत्ता हस्तान्तरण पूर्व रक्तपातपूर्ण संघर्ष भएको थियो ।  

ट्रम्प समर्थकबाट थप आक्रमणको सम्भावनालाई मध्यनजर गर्दै संसद् भवन आसपास व्यापक सुरक्षा व्यवस्था गरिएको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत समेत समर्थकलाई उत्तेजित बनाएपछि ट्विटरले उनको एकाउन्ट सधैका लागि बन्द गरिदियो । फेसबुक, इन्स्टाग्राम, युट्युबलगायतले पनि उनले चलाउँदै आएका एकाउन्टमा प्रतिबन्ध लगाइदिए ।  

सन २०१७ बाट अमेरिकी शासन व्यवस्थाको बागडोर सम्हालेका ट्रम्पले सनकी शासकका रुपमा आफ्नो चार वर्षे कार्यकाल व्यतित गरेका छन् । सामान्यतया अमेरिकामा एकै राष्ट्रपति दोस्रो कार्यकाल पनि निर्वाचित भएर सत्ताको बागडोर सम्हाल्ने परम्परा रहेको छ । तर ट्रम्पको व्यवहारबाट आजित भएको अमेरिकीहरूले ट्रम्पलाई भने एक कार्यकाल मात्रै राष्ट्रपतिका रुपमा शासन गर्ने अवसर दिए ।

ट्रम्पको प्रतिद्वन्द्वीका रुपमा उठेका बाइडेनले प्राप्त गरेको मत संख्याले पनि ट्रम्प अमेरिकी शासकका रुपमा अलोकप्रिय बनिरहेका थिए भन्ने देखाएको छ । नवनिर्वाचित राष्ट्रपति बाइडेनले अमेरिकी राष्ट्रपतिप्रति बढ्दो अविश्वासलाई पहिलेकै अवस्थामा फर्काउन पहल गर्ने र ट्रम्पले गरेका कतिपय अलोकप्रिय निर्णयलाई समेत सच्याउने अपेक्षा गरिएको छ । बाइडेनले यसको घोषणा समेत गरिसकेका छन् ।  

आफ्नो पराजयलाई स्वीकार गर्न नसकेका राष्ट्रपति ट्रम्पले नवनिर्वाचित राष्ट्रपति वाइडेनको सपथ ग्रहण कार्यक्रममा सहभागीता नजनाउने भएका छन् । उनले सामाजिक सञ्जाल ट्विटमार्फत यसको जानकारी गराइसकेका छन् । पराजयलाई स्वीकार गर्न नसकेका उनले शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्छन या गर्दैनन भन्ने आशंकाकाबीच क्यापिटोलमा भएको आक्रमणपछि उनले सत्ताहस्तान्तरणको प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित: ७ माघ २०७७ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App