८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सीमाबारे भारत र चीनबीच गम्भीर मतभेद, भयो कडा भनाभन

भारत र चीनबीच दुई देशको सीमा क्षेत्र लद्दाखका विषयमा दिनप्रतिदिन विवाद चर्किंदै गएको छ।  

पछिल्लोपटक लद्दाखबारे चीन र भारतबीच कडा भनाभन भएको हो।  

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मंगलबार भारतले भनेको कथित केन्द्र प्रशासित प्रदेश लद्दाखलाई आफ्नो देशले मान्यता नदिने बताएका हुन्।  

भारतले पनि कडा जवाफ दिँदै आफूले पनि सन् १९५९ को एलसीलाई मान्यता नदिने चेतावनी दिएको हो।  

भारतको विदेश मन्त्रालयले भनेको छ, ‘हामीले भारत–चीन वास्तविक नियन्त्रण रेखा (एलएसी) बारे चीनको एक प्रवक्तालाई उद्धृत गर्दै लेखिएको रिपोर्ट पढ्यौं। एकतर्फी रूपमा सन् १९५९ मा बनाएको एलएसीलाई भारतले कहिल्यै स्वीकार गरेको छैन। चीनसमेत सबैलाई यो कुरा थाहा हुनुपर्छ।’

सन् २००३ सम्म दुवै तर्फबाट एलएसीको निर्धारण दिशामा कोसिस भइरहेको तर पछि चीनले यसमा रुचि देखाउन छाडेका कारण यो प्रक्रिया रोकिएको भारतीय विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ। ‘त्यसैले अब चीनले एउटा मात्रै एलएसी छ भन्ने कुरामा जोड दिनु आफ्नै प्रतिबद्धताको उल्लंघन हो,’ विज्ञप्तिमा भनिएको छ।  

चीनको पत्रिका ग्लोबल टाइम्सका अनुसार भारतको सीमासँग जोडिएका क्षेत्रमा सडक बनिरहेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भनेका छन्, ‘विवादित सीमावर्ती क्षेत्रमा नियन्त्रण गर्ने उद्देश्यले सैनिकले बनाइरहेको संरचनाको विरोध गर्छ।’

उनका अनुसार चीन र भारतबीच हालै भएको सहमतिअनुसार कुनै पक्षले पनि सीमा क्षेत्रमा कुनै गतिविधि नगर्ने सहमति भएको थियो।  

धारा ३७० खारेज

भारत सरकारले ५ अगस्ट २०१९  मा आफ्नो संविधानको धारा ३७० अनुसार भारत प्रशासित कस्मिरले पाउने विशेष राज्यको अधिकार अन्त्य गरेको थियो र राज्यलाई विभाजन गरेर दुई केन्द्र शासित प्रदेशमा बाँडेको थियो।

एउटालाई जम्मु–कस्मिर र लद्दाखलाई अर्कै प्रदेश बनाइएको थियो।

हुन त र भारत र चीनबीच सीमा विवाद निकै पुरानो विषय हो, तर हालैका दिनमा यो अझ बढेकाे छ। यसै वर्ष अप्रिल–मेमा लद्दाखको गलवान उपत्याकानजिकै चीनका सैनिक भारतले आफ्नो दाबी गरेको क्षेत्रमा आएर बस्न थालेको खबर सार्वजनिक हुन थाले।

छलफल जारी

समस्या सुल्झाउन दुई देशका सैन्य अधिकारीबीच थुप्रै चरण वार्ता भएको भए पनि भए खासै उपलब्धि हुन सकेन।

स्थिति त्यतिबेलादेखि थप गम्भीर बन्यो, जब गत जुन १५ मा दुई देशका सेनाबीच हिंसात्मक झडप भयो। जसमा भारतका २० सैनिक मारिए। भारतले चीनका सैनिक पनि मारिएको दाबी गरे पनि चीन आफैंले यसबारे अहिलेसम्म केही बताएको छैन।

यसपछि सीमामा समझदारी कायम गर्न सैन्य, कूटनीतिक र राजनीतिक स्तरमा वार्ता भइरहेका छन्।

सीमामा तैनाथ शीर्ष सैन्य अधिकारीबीच छलफल मात्र होइन, यसबीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरले चीनका विदेशमन्त्रीसँग भेटवार्ता पनि गरे। तर समस्या सुल्झन सकेन। अझ यसबीच सीमामा दुई देशबीच फायरिङ भएका खबर आइरहेका छन्।  बिबिसी

प्रकाशित: १४ आश्विन २०७७ ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App