९ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सेनाले नियन्त्रणमा लिएपछि मालीका राष्ट्रपतिले दिए राजीनामा

फाइल तस्बिर : मालीका राष्ट्रपति इब्राहिम बौबाकर केयटा

मालीका राष्ट्रपति इब्राहिम बौबाकर केयटाले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । 

सेनाको नियन्त्रणमा राखिएको भनिएको केही घण्टापछि बुधबार बिहान उनले राजीनामा दिएको सामाचार सार्वजनिक भएको हो ।

मुलुकमा रक्तपात हुन नदिन आफूले राजीनामा दिएको उनले बताएको अल जजिराद्वारा प्रेषित समाचारमा उल्लेख छ ।

‘आज सेनाले हस्तक्षेपको आवश्यकता रहेको निर्णय गरेछ, त्यसपछि मैले आफू शक्तिमा रहन रक्तपातपूर्ण अवस्था रोज्ने कि शक्तिमा नभए पनि शान्ति रोज्ने भन्ने विकल्प आयो, मैले शान्तिपूर्ण बाटो रोजेको छु,’ उनले भनेका छन् ।  

उनको वक्तव्यलाई उद्धृत गर्दै राष्ट्रिय टेलिभिजनले केयटाले पद त्यागको घोषणा गर्दै सरकार र संसद् पनि भंग गरेको समाचार प्रसारण गरेको छ।  

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेसले राष्ट्रपति इब्राहिमलाई तत्काल सैन्य नियन्त्रणबाट मुक्त गर्न माग गरेका थिए । बिनासर्त तत्कालै उनलाई रिहा गर्न महासचिव गुटेर्रेसको दबाब थियो ।  

उनले राष्ट्रपति सँगसँगै सैन्य नियन्त्रणमा परेका मालीका प्रधानमन्त्री बौबौ किसलाई पनि बिनासर्त मुक्त गर्न माग गरेका छन् ।  

अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठन र केही देशले पनि मालीमा भएको सैन्य विद्रोहप्रति चिन्ता व्यक्त गर्दै संवैधानिक व्यवस्थाको पुनर्बहालीका लागि आग्रह गरेका छन् ।

मालीको सेनाले मंगलबार अबेर विद्रोह गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो भने राजधानीलगायत मुख्यमुख्य ठाउँमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  

सैन्य अधिकारीले राष्ट्रपति, प्रधानमन्त्रीसँगै केही मन्त्री र उच्च सरकारी अधिकारीलाई पनि नियन्त्रणमा लिएको जनाइएको छ ।

लामो समयदेखि सरकारले सेनाका गुनासा सम्बोधन नगरेका कारण सैन्य विद्रोहको अवस्था सिर्जना भएको बताइएको छ । पश्चिम अफ्रिकी देश मालिमा पछिल्लो केही समयदेखि सरकारप्रति चरम असन्तुष्टि व्यक्त गर्दै ठूला ठूला प्रदर्शन निरन्तर भइरहेका थिए ।  

धार्मिक अगुवा महमुद डिक्कोको नेतृत्वमा भएका ठूला प्रदर्शनमा राष्ट्रपतिको राजीनामा माग गरिएको थियो । प्रदर्शनकारीले राष्ट्रपति केयटाका कारण देशमा भ्रष्टाचार, अर्थतन्त्रको खराब व्यवस्थापन, सुरक्षा अवस्था र बढ्दो जातीय हिंसा बढिरहेको आरोप पनि लगाएका छन् ।  

केयटा दोस्रो कार्यकालका लागि सन् २०१८ मा चुनावबाट मालीको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । एएनआई

प्रकाशित: ३ भाद्र २०७७ ११:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App