नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ। ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ।
प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट करिब ६५ किलोमिटर टाढा रहेको कोरे भन्ने ठाउँमा ती फ्रान्सेली नागरिकको हत्या भएको हो।
उनीहरु सहायता कार्यका लागि त्यहाँ पुगेका थिए। उनीहरुलाई बन्दुकधारीहरुले हत्या गरेको बताइएको छ। यस विषयको विस्तृत विवरण भने आएको छैन। ती सहायताकर्मीहरुले अन्तर्राष्ट्रिय सहायता समूह एटिसीइडीमा काम गर्ने गरेका थिए। सोही समूहका ती सहायताकर्मीलाई नै लक्ष्य गरेर बन्दुकधारीहरुले हमला गरेका प्रारम्भिक सूचनामाा जनाइएको छ।
आफ्ना ती नागरिक नाइजरमा मारिएको फ्रान्स सरकारले पनि पुष्टि गरेको छ। उनीहरु आइतबार मारिएका फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको हो। यसअघि सो समाचार अल जाजिरा टिभीले दिएको थियो। उनीहरु किन मारिएका हुन् र कसले हत्या गरेको हो भन्ने बारेमा भने केही खुलेको छैन।
फ्रान्सेली राष्ट्रपति एम्यानुयल म्याक्रोले नाइजरका राष्ट्रपति मोहमदु इसोफूसँग फोनमा कुराकानी गरेको अल जाजिरा टिभीले जनाएको छ।
नाइजरका राष्ट्रपति मोहमदु इसोफूले उक्त घटनाको निन्दा गरेका छन्। यसरी नागरिकको हत्या गर्ने काम जघन्य अपराध भएको भन्दै फ्रान्सेली सरकार र नागरिकप्रति उनले सहानुभूति दिएको पनि सो समारमा जनाइएको छ।
यस घटनाको अनुसन्धान शुरु भएको छ। हत्या कसले र किन गरेको हो भन्ने बारेमा केही बताइएको छैन।
प्रकाशित: २६ श्रावण २०७७ ०६:१३ सोमबार