२४ पुस २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मास्कसँग अमेरिकी किन क्रुद्ध ?

तारा म्याकेल्भी

महामारीका बेला कपडाको एउटा सानो टुक्राले जनस्वास्थ्य, नागरिक तथा व्यक्तिगत स्वतन्त्रताका विषयलाई लिएर अमेरिकामा राष्ट्रव्यापी कलह जन्माएको छ। केही अमेरिकीले आफ्नो आधारभूत मान्यता तथा सिद्धान्तले मुख ढाक्न नमिल्ने तर्क गर्दै मास्क लगाउन अस्वीकार गरेका छन् भने अन्यले जनस्वास्थ्यका लागि अपरिहार्य ठानिएको यो व्यवस्थाको अवज्ञा गरिएको भन्दै रोष प्रकट गरेका छन्।  

अमेरिकी राज्य कन्सासका बब पाल्मग्रेन आफ्नो ग्राहकप्रति सुरुमा नम्र रहन्छन्। उनले आफ्नो रेस्टुरेन्टमा आएका एकजनालाई मास्क लगाउन अनुरोध गरेका थिए। उमेरले ४० पुगेका ती ग्राहकले बन्दुक नै चलाएर राज्यले मास्क लगाउनुपर्ने भनेर गरेको व्यवस्थाको छुट आपूmलाई भएको दाबी गरे। उनले कानुनको अगाडि पनि आफूले त्यही दाबी गर्ने तर्क पाल्मग्रेनलाई सुनाए।

पूर्वजलसैनिकसमेत रहेका पाल्मग्रेन ती ग्राहकको बन्दुकसँग डराएनन् र आफू वार्तालाप गर्न अनिच्छुक रहेको बताए। ‘कोरोना भाइरसले तपार्इंसँग बन्दुक छ वा छैन भन्ने कुरामा वास्ता गर्दैन,’ उनले भने, ‘तपाईं यहाँबाट गइहाल्नुस्।’

कन्सासको एउटा रेस्टुरेन्टमा भएको यो विवादले मास्कको विषयलाई लिएर अमेरिकी समाज कति विभाजित छ भन्ने देखाउँछ। महामारी रोकथाम गर्न कन्सासलगायत अमेरिकाका झन्डै आधा राज्यमा मास्क अनिवार्य बनाइएको छ। तर, कतिपय मानिस यो अपरिहार्य व्यवस्थाको विरोधमा उत्रेका छन्।  

मास्क अमेरिकामा राजनीतिक द्वन्द्वको उत्प्रेरक बनेको छ, जहाँ वैज्ञानिक प्रमाणलाई पनि पक्षपातपूर्ण हिसाबले हेरिन्छ। अमेरिकामा अधिकांश डेमोक्र्याटले मास्क लगाउने कुराको समर्थन गर्ने पिउ सेन्टरले हालै गरेको एक सर्वेक्षणले देखाएको थियो। तर, रिपब्लिकनले यो अनिवार्य व्यवस्थाको समर्थन गरेका छैनन्। उनीहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट प्रेरित छन्, जसले मास्क लगाउन लगातार अनिच्छा व्यक्त गर्दै आएका छन्। ह्वाइट हाउसमा विदेशी पाहुनालाई स्वागत गर्दा मास्क लगाउन उपयुक्त नहुने तर्क ट्रम्पको छ। हालै एक सैनिक अस्पताल भ्रमणका क्रममा ट्रम्पले मास्क लगाएका थिए। तर मंगलबार आफ्नो पूर्ववत् धारणालाई परिवर्तन गर्दै उनले अमेरिकीले मास्क लगाउन आवश्यक रहेको बताएका थिए।  

अमेरिकी राष्ट्रपतिको चुनाव यही नोभेम्बरमा हुँदैछ र यो चुनावी मौसममा मास्कको विषयलाई लिएर लडाइँ झन् चर्किएको छ। चुनावी विजयका लागि दुवै दल जोडतोडले लागेका छन्। यतिबेला मास्कको प्रयोग पनि चुनावी मुद्दा बनेको छ। मोर्गान स्टेट विश्वविद्यालयका जनस्वास्थ्य विषयका प्राध्यापक टिमोथी अकर्स भन्छन्, ‘हामी विज्ञान र राजनीति आपसमा भिडिरहेको देख्दैछौं।’ मास्क विवादले चुनावी अभियानको राजनीतिक गतिशीलतालाई मुखरित गरेको छ। यसले व्यक्तिगत स्वतन्त्रतामा विश्वास गर्ने अथवा जनस्वास्थ्यको सुरक्षालाई प्राथमिकता दिने भन्ने दुई पुरातन अमेरिकी धारणाबीचको द्वन्द्वलाई अगाडि ल्याएको छ।

मास्क विवाद सघन र गहिरो हिसाबले व्यक्तिगत बनेको छ। कन्सासका रेस्टुरेन्ट मालिक पाल्मग्रेनले राज्यले जारी गरेको निर्देशिका पालन गर्न खोजेका थिए। यस्ता उदाहरण अमेरिकाभर छन्। मिचिगनमा रहेको पिज्जा हाउसका कामदारले मास्क लगाउन अनुरोध गर्दा एक ग्राहक महिलाले कामदारलाई भौतिक रूपमै हमला गरेर भागेकी थिइन्। लस एन्जलसको एक ग्रोसरी स्टोरमा मास्क विवादका कारण चलेका गोलीले एकजनाको मृत्युसमेत भएको थियो।

पछिल्ला दिनमा अमेरिकामा ऐतिहासिक हिसाबले भाइरसको संक्रमण दर बढेको छ र स्वास्थ्य संकटको यो पृष्ठभूमिमा मास्कसम्बन्धी विवाद झन् झाँगिएको छ। अमेरिकामा हालसम्म साढे ३५ लाखमा भाइरस संक्रमण छ भने झन्डै १ लाख ४० हजारले ज्यान गुमाइसकेका छन्।

यसरी अमेरिकामा मास्कको पक्ष–विपक्षमा जनमत नराम्ररी बाँडिएको छ। दुवै पक्षको एकअर्काप्रतिको अविश्वास बढ्दो छ। उनीहरूले देशको आर्थिक तथा जनस्वास्थ्यको संकटका लागि एकअर्कालाई जिम्मेवार ठानेका छन्।  

सांकेतिक भाषाकी इन्टरप्रेटर सुसन विल्स फ्लोरिडाको एक सुपरमार्केटमा घटेको घटनालाई लिएर आक्रोशित छन्। प्रतिरक्षा प्रणालीमा केही गडबड हुने रोगबाट ग्रसित ती महिला सुपरमार्केटभित्र गुड्ने ‘मोटराइज्ड कार्ट’मा बसेर सपिङ गर्दै थिइन्। त्यतिबेला सुपरमार्केटका एक कर्मचारी र अर्का ग्राहकले मास्क नलगाएको भनेर गाली गर्दै उनलाई तुरुन्त बाहिर जान भनेका थिए। ‘यस्ता मानिस समाजका लागि खतरा हुन्,’ उनीहरूले ती महिलालाई भनेका थिए, ‘तपाईं ट्रम्पको ¥यालीमा किन जानुहुन्न ?’

त्यसो त ती महिला राष्ट्रपति ट्रम्पको ¥यालीमा सहभागी भइसकेकी थिइन्। उनी कोभिड–१९ को संकटलाई आवश्यकताभन्दा धेरै बढाइँचढाइँ गरिएको ठान्छिन्। ‘हो, भाइरसको प्रकोप छ तर रुघाखोकीले पनि ठूलो संख्यामा मानिसहरू बर्सेनि मर्ने गरेका छन्,’ उनी थप्छिन्, ‘यो भनिएजस्तो संकट हुँदै होइन।’  

फ्लोरिडाको पब्लिक्स भन्ने ठाउँमा भएको त्यो वादविवादपछि सुपरमार्केटहरूले मास्क लगाउनुपर्ने औपचारिक नीतिको घोषणा गरेका छन्। मंगलबारदेखि यो नियम लागु हुनेछ। त्यसो त वालमार्ट, सिभिएस तथा अन्य थोक बिक्रेता स्टोरले अमेरिकाभर मास्क लगाउनुपर्ने व्यवस्था यसअघि नै गरिसकेका छन्। यस्तो व्यवस्थाले विल्स र मास्कविरोधी अन्यलाई अप्ठेरोमा पारेको छ तर उनीहरूले विरोध जारी छ।  

कन्सासको एक कन्स्ट्रक्सन कम्पनीका मेनेजर निल मेल्टन ट्रम्पको मास्कसम्बन्धी धारणाको समर्थन गर्छन्। उनी भाइरस संक्रमण रोक्न मास्क प्रभावकारी नहुने ठान्छन्। ‘सत्तामा भएकाले जनतालाई आफूले भनेका मान्नुपर्छ भन्ने मान्यताका आधारमा मास्कसम्बन्धी नियम ल्याइएका छन्,’ उनी भन्छन्।

रिपब्लिकनहरूको बाहुल्य रहेका ओक्लाहोमा, साउथ क्यारोलिना, जर्जियाजस्ता राज्यले लकडाउनलाई छिटो खुकुलो पारेकाले भाइरस संक्रमणको गति ती राज्यमा तीव्र छ। यी राज्यमा अधिकांशले मास्क लगाएका छैनन्। त्यसो त गाडीमा सिट बेल्ट बाँध्न र रेस्टुरेन्टमा चुरोट खान नपाउने नियमको परिपालन गर्न पनि सुरुमा अमेरिकामा कठिन भएको थियो। अमेरिकीले यस्ता नियमको प्रतिरोध गरेका थिए तर बिस्तारै ती नियमको परिपालन गरेका थिए।  

भर्जिनियाकी ट्रम्प समर्थक क्रिस्टल लायन मास्कलाई ‘सुरक्षाको गलत बाटो’ भएको तर्क गर्छिन्। ‘गाडीमा सिट बेल्ट लगाउनु र मास्कलाई तुलना गर्न मिल्दैन,’ उनी भन्छिन्, ‘मलाई मास्कले सुरक्षा गर्छ भन्ने लाग्दैन।’ मास्क विरोधीहरूको आवाज चर्काे र स्पष्ट छ तर अधिकांश अमेरिकीन मास्क लगाउन पर्नेमा एकमत छन्। एक सर्वेक्षणले ६० प्रतिशत अमेरिकीले बाहिर निस्कँदा मास्क लगाउन आवश्यक पर्ने ठान्ने देखाएको थियो। बेलायतमा २० प्रतिशतभन्दा कमले मास्क लगाउन आवश्यक रहेको ठान्छन्, सो सर्वेक्षणले देखाएको थियो।

संक्रामक रोगसम्बन्धी अध्ययनकर्ता मास्कका विषयमा रहेको फरक जनमतलाई सम्बोधन गर्न लागि परेका छन्। ‘कतिपयले यस्ले काम गर्दैन भन्ने ठान्छन् भने अरू मास्क लगाउनुपर्ने व्यवस्था उनीहरूको अधिकारको हनन भएका ठान्छन्,’ नासभेलमा रहेको भेन्डरविल्ट विश्वविद्यालयअन्तर्गतका संक्रामक रोग महाशाखाका निर्देशक डेभिड अरोनोफ भन्छन्।  

मास्कविरोधीको तर्कसँग जनस्वास्थ्यका विज्ञ सहमत छैनन्। उनीहरू मास्कले संक्रमितबाट अन्यलाई भाइरस सर्नबाट बचाउने तर्क गर्छन्। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र, सिडिसीका निर्देशक रोबर्ट रेडफिल्ड एक वेबकास्टमा हालै भनेका थिए, ‘महामारीको सुरुदेखि अमेरिकामा मास्क लगाएको भए महामारी दुई महिनाभित्रै भाइरस नियन्त्रणमा आइसक्थ्यो।’  

त्यसो त मास्कसम्बन्धी सुझाव पनि समयक्रमसँगै परिवर्तन भएका छन्। सन् २०२० को सुरुताका जनस्वास्थ्य अधिकारीले स्वास्थ्यकर्मीलाई मास्कको अभाव हुने भन्दै आमजनसमुदायले मास्क लगाउनुनपर्ने भनेका थिए। तर केही महिनामै भाइरस संक्रमणको नयाँ पाटाहरू पत्ता लागेपछि आमजनसमुदायले मास्क लगाउनुपर्ने धारणा अगाडि आएको थियो। यस्ता परिवर्तन भइरहने धारणाले भ्रम सिर्जना गर्ने डेमोक्र्याटहरू ठान्छन्। उनीहरू मास्कले सधैं भाइरस संक्रमणको विस्तारलाई रोक्न सहयोग पु¥याउने तर्क गर्दै भन्छन्, ‘देशलाई यथाशीघ्र नर्मल अवस्थामा लान पनि मास्क अपरिहार्य छ।’  

न्यु मेक्सिकोका रेस्टुरेन्ट मालिक म्याट डिग्रेगरी मास्कजस्तो संवेदनशील विषयमा विवाद भएकोमा चिन्तित छन्। ‘यस्ता विषयलाई राजनीतिक रङ दिनुहुँदैन,’ उनी भन्छन्।  (बिबिसीबाट)

प्रकाशित: ९ श्रावण २०७७ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App