७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

आठ प्रहरीको हत्या गर्ने गुन्डा विकास दुबेको घर डोजर लगाएर भत्काइयो

डाेजरद्वारा भत्काइकाे दुबेकाे घर। तस्बिर : एएनआइ न्युज

आफूलाई पक्राउ गर्न आएका डिएसपीसहित आठ प्रहरीको हत्या गर्ने भारतीय गुन्डा नाइके विकास दुबेको घर शनिबार डोजर लगाएर भत्काइएको छ।  

उत्तर प्रदेश सरकारको नेतृत्वमा गएको प्रहरीसहितको टोलीले भारतको कानपुरस्थित बिकरु गाउँमा रहेको उनको घर जेसीबी लगाएर भताभुंग पारिदिएको हो।  

यो पनि पढ्नुहोस्

भारतमा एकजना डिएसपीसहित आठ प्रहरीको हत्या

बिहीबार राति दुबेलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई आपाराधिक समूहले गोली हानेर डीएसपीसहित ८ प्रहरी मारेको थियो। घटनामा घाइते ७ प्रहरीको उपचार जारी छ। त्यसविरुद्ध प्रदेश सरकारले कडा कारबाही थालेको हो। त्यो घर पनि दुबेले गैरकानुनी रूपमा बनाएको बताइएको छ।  

दुबेको घर भत्काउनाका साथै उनका फर्निचर तथा महँगा गाडी पनि बुलडोजर लगाए ध्वस्त पारिएका छन्।  

बुलडाेजरद्वारा ध्वस्त पारिएकाे दुबेकाे गाडी

दुबेको खोजीमा प्रहरीको २५ वटा भन्दा बढी टोली खटिएका छन्। टोलीले उत्तर प्रदेशका साथै अन्य प्रदेशमा पनि उनको खोजी तीव्र पारेका छन्। प्रहरी सूत्रका अनुसार घटनामा केही प्रहरीकै सुराकी रहेको आशंकामा सोधपुछ भइरहेको छ। प्रहरीभित्रकै मानिसले सूचना दिएकै कारण दुबेले प्रहरीविरुद्ध त्यस्तो भयानक हमला गर्न सकेको अनुमान गरिएको छ।

दुबेबारे जानकारी दिनेलाई ५० हजार भारतीय रुपैयाँको इनाम दिने घोषणा प्रहरीले गरेको छ।  

लखनउ प्रहरीले शुक्रबार साँझ कृष्णानगरस्थित दुबेको घरमा पनि छापा मार्यो तर उनी फेला परेनन्।

प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मुठभेडमा मारिएका प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूको सहादत त्यसै खेर नजाने बताएका छन्। साथै घटनामा संलग्न अपराधीलाई कुनै हालतमा नछाडिने दाबी पनि उनले गरेका छन्। सहिद प्रहरीका परिवारलाई एक–एक करोड आर्थिक सहायता दिने घोषणा पनि उनले गरेका छन्।  

प्रकाशित: २० असार २०७७ १०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App