२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्लीका रेलहरुमा आइसोलेसन वार्ड बनाइने

दिल्ली राज्यका रेलहरुलाई कोरोना भाइरसको उपचार गर्ने आइसोलेसन वार्डका रुपमा परिणत गरिने भएको यहाँको सरकारले जनाएको छ। दिल्ली सरकारले यहाँको आनन्द विहार स्टेशनका रेलहरुका डिब्बामा आइसोलेसन वार्ड बनाउने बताएको हो। त्यस स्टेनसका रेलहरु सोमबारदेखि बन्द गरिएको छ।  

दिल्ली सरकारले यो कुराको जानकारी दिएको हो। दिल्ली राज्य सरकारका मुख्यमन्त्री अरबिन्द केजरिवालले  सोमबारबाट उक्त क्षेत्रका रेलहरुलाई आइसोलेसन वार्डका रुपमा प्रयोग गरिने जानकारी दिए।  

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतले रेल र रंगशालामा आइसोलेसन वार्ड बनाउन थालेको बताइएको छ। यसअघि पनि गत महिना नै भारतीय रेल्वे विभागले २० हजार रेल गाडीलाई मेडिकल सुविधामा परिणत गर्ने काम सुरु गरेको बताएको थियो।  

मुख्यमन्त्री केजरीवालले जवाहरलाल नेहरू रंगशालालाई क्वारेन्टाइन सेन्टर बनाउने बताएका थिए। रंगशालाहरुलाई पनि क्वारेन्टाइन र उपचार केन्द्र बनाएर विदेशबाट आउने नागरिकलाई त्यहाँ राख्ने निर्णय गरिएको जनाएको थियो।

सोमबार दिइएको समाचारअनुसार भारतको केन्द्र सरकारले करिब ५०० रेलगाडी दिल्ली सरकारलाई दिने निर्णय भएकोले सो उपलब्ध गराउने जनाइएको छ। यसबाट दिल्लीका करिब ८ हजार विरामीलाई त्यहाँ राखेर उपचार गर्न सकिने छ।  

ती रेलका डिब्बाहरुमा आइसोलेसनका शैयाहरु बनाइएको छ र त्यहीँ अस्पतालको बेडमा जस्तै उपचारको सुविधा पनि रहने छ। जसका कारण यहाँ हजारौँ मानिसलाई राख्न सकिने छ।  यो निर्णयसँगै त्यहाँ तीन लाख भन्दा बढी मानिसलाई क्वारेन्टाइनमा राख्न सकिने  रेलवे विभागले एक विज्ञप्तिमा भनेको छ।  

एक अर्बभन्दा बढी जनसंख्या रहेको भारतमा विगत लामो समयदेखि जारी लकडाउन हाल केही खुकुलो भएको छ। भाइरसको फैलावट रोक्न भन्दै सरकारले भारत बन्द गर्ने निर्णय गरेको थियो। तर यहाँ कारोना भाइरस संक्रमण भने बढेको त्यहाँका अधिकारीले बताएका छन्। अहिलेसम्म भारतमा यो भाइरसका संक्रमितहरुको संख्या तीन लाख नाघिसकेको छ।  

त्यस्तै यो महामारीबाट ९ हजार जनाभन्दा बढीको मृत्यु भएको छ। भारतीय राज्यहरूले भाइरसको सम्भावित प्रकोपसँग जुध्न रेल सेवालाई पनि अस्थायी अस्पताल बनाउन सुरु गरेका छन्।  भारतमा कोरोना भाइरसबाट हुने श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्याको उपचारका लागि आवश्यक भेन्टिलेटर, चिकित्सक तथा आवश्यक औषधि–उपकरणको अभाव भएको बताइएको छ। 

प्रकाशित: १ असार २०७७ ०६:३५ सोमबार

रेल आइसोलेसन वार्ड